काठमाडौं (हाम्रो खेलकुद)– सरस्वती युथ क्लबमाथि मंगलबार संघर्षपूर्ण जित निकाल्दै च्यासल युवा क्लब दोस्रो ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सातदोबोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सरस्वतीमाथि २–१ को कठिन जित निकाल्दै च्यासल अन्तिम आठमा प्रवेश गरेको हो ।
जितपछि च्यासलले समूह ‘ए’ मा सात अंक जोड्यो र समूह विजेता बन्यो । समूह ‘ए’ बाट नेपाल एपिएफ क्लब उपविजेताको रुपमा अर्को चरणमा पुग्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको खेलमा च्यासलले दुवै गोल पहिलो हाफमा गरेको थियो । च्यासलले २१ औं मिनेटमा कृष्ण भोलानको गोलबाट अग्रता लिएको थियो । त्यस्तै ४४ औं मिनेटमा सुसन श्रेष्ठले गोल गरेका थिए ।
पहिलो हाफमा २–० ले पछि परेपछि दोस्रो हाफमा सुधारिएको खेल पस्केको सरस्वतीका एक गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । सरस्वतीका ओमप्रकाशले सिंहले गोल गरेका थिए । त्यसपछि सरस्वतीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य बन्यो ।
च्यासलका मुख्य प्रशिक्षक थम्मन भुषालले जितमा खुसी व्यक्त गरे । ‘हामीलाई अर्को पुग्नका लागि लागि जित या बराबरीको आवश्यकता थियो । जितसहित अगाडि बढ्यौं,’ प्रशिक्षक थम्मनले भने, ‘डिफेन्समा केही समस्या भएपनि तीन अंक जोड्न सफल भयौं । क्वार्टरफाइनलका खेलहरु निकै प्रतिस्पर्धात्मक हुनेछन् ।’
अब च्यासलले सेमिफाइनल प्रवेशका लागि फ्रेन्डस क्लबको साना गर्नेछ । एपिएफले उपाधिको दाबेदार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।
यस्तै मंगलबारै भएको अर्को खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी सुदुरपश्चिमसँग १–१ गोलको बराबरीमा रोकिएको छ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । मनाङका धिरज सुनुवारले ३८ औं मिनेटमा गोल गरेको थियो । सुदुरका राम ढकालले ६० औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।
प्रतियोगिता अन्र्तगत बुधबार समूह चरणको अन्तिम खेल हुदैछ । पहिलो खेलमा हिमालय शेर्पाले न्युरोड टिम एनआरटी तथा दोस्रो खेलमा ब्रिगेड ब्वाइजे मोरङ फुटबल क्लबको सामना गर्नेछ ।