राकेश तिमल्सिना
काठमाडौं – स्पेनिस क्लब बार्सिलोना फ्यान क्लब नेपालले शनिबार राजधानीमा भेला आयोजना गरेको छ । बानेश्वरस्थित हिरा पार्टी प्यालेसमा बार्सा नेपालका वरिष्ठ उपाध्यक्ष प्रकाश घर्तीमगरले संस्थाको स्थापना र गतिविधिका बारेमा चर्चा गरेका थिए ।
क्लबका सचिव रघु खड्काले क्लबले सामजिक क्षेत्रमा गरेका कामका बारेमा जानकारी दिए । कार्यक्रममा ९० भन्दा बढी बार्सा समर्थकको उपस्थिति थियो । बार्सा नेपालको हाल पोखरा, चितवन र पूर्वाञ्चलमा शाखा स्थापना भइसकेको क्लबले जनाएको छ । सन् २०१३ मा स्थापना भएको क्लबमा झन्डै ५ हजार सदस्य रहेको क्लबले जानकारी दिएको छ ।
क्लबले नयाँ बर्षको अवसर पारेर काठमाडौंको रामजानकी आमाघरका वृद्धवृद्धालाई खाना खुवाउनुका साथै झुल, साबुनलगायतका सामग्रीहरु वितरण गरेको थियो । क्लबकै अग्रसरतामा ‘क्लिन इटहरी’ अभियान अन्तर्गत ट्याङ्ग्रा खोलामा वैशाखको दोस्रो साता देखि एक महिने सरसफाई अभियान संचालन गरिएको सचिव खड्काले जानकारी दिए । क्लबले इटहरीकी ब्रेन ट्युमर पीडित अनिता तामाङलाई अघिल्लो साता १० हजार रुपैयाँसहित ह्विलचियर प्रदान गरेको थियो ।