काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी निर्वाह गरेपछि गोलकिपर किरण चेम्जोङ व्यवासयिक खेल जीवन अघि बढाउन भोली साझ माल्दिभ्स प्रस्थान गर्ने भएका छन् । उनी कतार एयरवेजबाट साँझ ७ः३० बजे उड्ने छन् ।

यमनसँगको खेलपछि पत्रकार सम्मेलनमा किरण चेम्जोङ ।
किरण गत बर्ष पुसमा माल्दिभ्सको माथिल्लो श्रेणीको क्लब टिसी स्पोर्टसमा आबद्ध भएका थिए । लिगको ८ खेलपछि किरणको टोली टिसी स्पोर्टसको १४ अंक छ । शीर्षस्थानमा रहेको नाजियाको २१ अंक छ । एसियन कप छनोटमा यमनसँगको मंगलबारको होम म्याच र जेठ २३ गते भारतसँग मैत्रीपूर्ण खेलका लागि किरण जेठ १३ गते काठमाडौं आइपुगेका थिए ।
उनको सहित उच्च प्रदर्शनबाट प्रेरित नेपाली टोलीले यमनसँग गोलरहित बराबरी खेल्दै अंक तालिकामा पहिलो अंक जोडेको थियो । २ खेलमा नेपालको १ अंक पुगेको छ । किरण यमनसँगको खेलमा म्यान अफ दी म्याच समेत घोषि तभएका थिए । चैतमा पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो ।
यसपटक भने उनी सुखद अनुभव लिएर माल्दिभ्स फर्कदैछन् । ‘यसपटक हामीले मैत्रीपूर्ण खेल खेल्न पायौं । त्यसका यमनसँग खेल्नुअघि टोलीमा रहेको कमजोरी सुधार्ने अवसर पायौं ’ उनले यमनसँगको खेल स्मरण गर्दै हाम्रो खेलकुद डटकमसँग भने, ‘हामीले खेलअघि पनि सल्लाह गरेर खेलेका थियौं । सबैले राम्रो खेल्यौं र बराबरी गर्न सफल भयौं ।’
उनले घरेलु मैदानमा खेल्दा अवे खेलमा भन्दा बेग्लै उत्साह र उच्च मनोबल रहने दोहोराए । ‘घरेलु समर्थकका बीचमा खेल्नुको मनोबलनै बेग्लै हुन्छ । हाम्रो खेल हेर्न समर्थकहरु उत्साहका साथ रंगशाला पुग्नुहुन्छ ’ उनले थपे, ‘हामी पनि उहाँहरुलाई निराश पार्न चाहन्नौं र जति सक्दो राम्रो गर्ने प्रयास गर्छौ । जस्तो सुकै बलियो टोली आउँदा पनि घरेलु मैदानमा खेल्न सक्छौं भन्ने मनोबल हुन्छ ।’
माल्दिभ्समा पनि किरणले उच्च प्रदर्शन गर्दै आएका छन् । उनले सिजनको पहिलो नकआउट प्रतियोगितामा नै टोलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बंगलादेशमा भएको शेख कमल कप नकआउट प्रतियोगिताको उपाधि उनको टोली टिसी स्पोर्टसले जितेको थियो । उनले टिसी स्पोर्टसबाट खेलेको त्यो पहिलो प्रतियोगिता थियो । त्यो प्रतियोगितामा किरणको पूर्व क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई हराएको थियो । मनाङविरुद्धको सेमिफाइनलमा किरण म्यान अफ दी म्याच चुनिएका थिए ।

यमनसँगको खेलका दौरान बल रोक्ने प्रयासमा किरण (पहेलो जर्सीमा) ।