काठमाडौं (हाम्रो खेलकुद)– करोड भन्दा बढी ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाही पक्राउ परेका छन् । हाल एन्फाको फुटसल समितिको उप संयोजक समेत रहेका शाहीले क्यानडामा आयोजना आयोजना हुने मैत्रीपूर्ण खेलमा सहभागी गराउने भन्दै २५ जना भन्दा बढीसँग रकम उठाएका थिए ।

एन्फाका पूर्व महासचिव लोकबहादुर शाहीलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लाने क्रममा ।
शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार शाहीले क्यानडा पठाइदिन्छु भन्दै २५ जनाभन्दा बढीबाट रकम उठाएका थिए । पीडितमध्ये राजकुमार श्रेष्ठ, कमल भण्डारीको उजुरीका आधारमा शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले प्रत्येक व्यक्तिबाट दुई लाख ५० हजारका दरले रकम उठाएका छन् । एसएसपी अमात्यले भने, रसिद दिएको बाहेक उजुरी कर्ताहरुमध्ये कतिपयले ७ देखि ९ लाख रुपैयाँ समेत बुझाएको बताएका छन् । टोरन्टोमा यसै बर्षको मे १५ देखि २५ सम्म मैत्रीपूर्ण फुटबलमा सहभागी गराउने भन्दै शाहीले पैसा उठाएका थिए । उनलै रकम लिएर स्पोर्टस फर अलका नाममा रसिद दिएका छन् । स्पोर्टस फर अलका उनी अध्यक्ष हुन् ।
एसएसपी अमात्यका अनुसार क्यानडा पुगेपछि त्यही लुकेर काम गर्न सकिने आश्वासन शाही दिदै शाहीले रकम उठाएका थिए । प्रतियोगितामा भाग लिन ललितपुरको कुसुन्ती युवा क्लबबाट खेलाडीको नाम दर्ता गराइएको थियो । शाहीले भनेको सयमा उडाउन नसकेपछि पीडितहरुले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका थिए ।

लोकबहादुर शाही
सन् १९८४ मा नेपाली राष्ट्रिय टोलीले दक्षिण एसियाली खेलकुद (साफ) मा स्वर्ण पदक जित्दा टोलीको सदस्य रहेका थिए । दैलेखमा जन्मेका शाहीले भेरी अञ्चल र पछि नेपाल पुलिस क्लबबाट फुटबल खेलेका उनी राष्ट्रिय टोलीबाट झन्डै एक दशक खेले । उनले १९८९ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए ।
उनी झन्डै ५ बर्ष एन्फाको महासचिव रहेका थिए । १९९५ मा एन्फा पूर्नगठन हुँदा गणेश थापा अध्यक्ष र शाहीलाई महासचिवको जिम्मेवारी दिइएको थियो ।
एन्फापछि नेपाल बक्सिङ संघको महासचिव समेत रहेका शाही अहिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता अर्को संघ नेपाल आइस हक्की संघको अध्यक्ष हुन् । उनले दरबारमार्गमा स्पोर्टस फर अलको कार्यालय समेत चलाउँदै आएका छन् । शाहीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लएिको छ ।