काठमाडौं (हाम्रो खेलकुद) – यसै साताबाट धनगढीमा सुरु हुने नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताका लागि थ्री स्टार सुदूरपश्चिम प्रस्थान गरेको छ । आज राजाधानीमा आयोजित एक कार्यकमका बीच टोलीलाई क्लबका पदाधिकारीले विदाई गरे ।
सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारबाट धनगढीमा सुरु हुने प्रतियोगितामा थ्री स्टार एक वर्ष भन्दा लामो समयपछि घरेलु फुटबलमा पुनरागमन गर्दैछ । मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको पहिलो खेलमा थ्री स्टारले झापाको सामना गर्ने छ ।
११ दिनसम्म खप्तडमा चल्ने प्रतियोगितामा १२ टोली सहभागी छन् । दुई समूहमा रहेर टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । समुह ‘ए’ मा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव, च्यासल युथ क्लब काठमाडौ, सहारा क्लव पोखरा, नेपाल एपिएफ क्लब, धरान फुटवल क्लव र सिएमजी क्लब संकटा छन् । थ्री स्टार, झापा ११ सहित साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब, डुक स्टार भुटान, अग्नी रुपन्देही ११ र त्रिभुवन आर्मी समुह ‘बी’मा छन् ।
उद्घाटन खेल पुस २१ गते आयोजक र काठमाण्डौको ए डिभिजन टोली च्यासल युथ क्लबबीच हुनेछ । प्रतियोगितामा च्यासलले पहिलोपटक ‘ए’ डिभिजन खेल्न लागेको हो । समुह ‘ए’ बाट आयोजक र च्यासल तथा समूह ‘बी’ बाट मनाङ र आर्मीले वाइ पाएर सोझै क्वार्टरफाइनल खेल्दैछन् ।
गत वर्ष छनोट चरण पार गरेपछि एन्फाको कमजोरीका कारण एएफसी खेल्न नपाएपछि थ्री स्टारले एन्फाका सबै कार्यक्रम बहिष्कार गर्दै आएको थियो । सुरुमा ६ करोड क्षतिपूर्ति मागेको थ्री स्टारले १ करोड ५० लाख रुपैयाँ एन्फाले क्षतिपूर्ति दिने विषयमा सहभागित गरेपछि फुटबलमा फर्कन लागेको हो ।
खप्तडको तयारीका लागि थ्री स्टारले गत महिनाको अन्त्यबाट तयारी थालेको थियो । थ्री स्टारले राष्ट्रिय टोलीका स्टार विमल घर्तीमगर र अनन्त तामाङलाई पनि यसबीचमा भित्राएको छ । प्रतियोगिताको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैया तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन् ।