धनगढी (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आयोजक सुदूरपश्चिम ११ लाई २-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।
तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
५७ औं मिनेटमा मैदानको दाँया तर्फ सुदूरपश्चिमका खेलाडीले बल आउट भएको मान्दै छोडेको बललाई एपिएफका खेलाडीले क्रस गरे । त्यहि क्रसलाई सदुपयोग गरेका अन्जनले कुल फिनिस गर्दै एपिएफलाई अग्रता दिलाएपछि आक्रोशित दर्शकहरुले मैदानमा पानीको बोतल प्रहार गरेपछि खेल केहीबेर रोकियो ।
खेलको ७७ औं मिनेटमा नवीन लामाले एपिएफको अग्रता दोब्बर गरे । त्यसको ९ मिनेट पछि उनै नवीनको बक्स भित्रबाटको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । खेलमा थपिएको ११ मिनेटको इन्जुरी समयमा घरेलु टोलीले गोल गर्ने प्रयास गरेपनि सफल भएन । गोलरहित पहिलो हाफमा भने दुवै टोलीले सशक्त प्रयास गर्न सकेका थिएनन ।
एपिएफले सोमबार फाइनलमा अर्को विभागीय टोली नेपाल आर्मीको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा आर्मीले लक्ष्मी ह्युण्डाई मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ ले हराउँदै फाइनल पुगेको थियो ।