पोखरा (हाम्रो खेलकुद) – आयोजक सहारा क्लब १६ औं आहा रारा गोल्ड कपको पहिलो खेलमै स्तब्ध भएको छ । आयोजकलाई ३–० ले हराउँदै सुदूरपश्चिम ११ स्पोर्टस क्लब आहा राराको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमलाई जित दिलाउन धनबहादुर थापा, मणीराम चोधरी र राकेश हमालले गोल गरे । धनबहादुरको गोलबाट २४ औं मिनेटमा अग्रता लिएको सुदूरपश्चिमले खेलको अन्त्यतिर २ गोल थपेको थियो ।
मणीरामले ७७ औं र राकेशले इन्जुरी समयमा गोल गरेपछि सुदूरपश्चिम प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको थियो । म्यान अफ दी म्याच मणीरामले १० हजार रुपैयाँ प्राप्त गरे । माघ २० गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित ७ लाख रुपैयाँ प्राप्त गर्नेछ ।