काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल समितिको अध्यक्षमा बृन्दा देवान निर्वाचित भएकी छिन् । एन्फा मुख्यालय सातदोबाटोमा भएको निर्वाचनमा देवानले शिवानी थापा र विमला पौडेललाई हराइकी थिइन् ।
देवानले २४ मत प्राप्त गर्दा थापाले १३ र पौडेलले ५ मत प्राप्त गरेकी थिइन् । ४८ मत मध्ये ५ मत खसेन भने १ मत बदर भएको थियो । एन्फाको केन्द्रिय समितिको निर्वाचन अघि जिल्ला र ४ समितिको निर्वाचन हुनुपर्ने प्रावधान अनुसार महिला समितिको निर्वाचन भएको हो ।
उपाध्यक्ष र सदस्यमा भने सर्वसम्मत निर्णय भएको थियो ।उपाध्यक्षमा प्रमिला श्रेष्ठ, रमा भट्टराई र जमुना गुरुङ चुनिए । सदस्यतर्फ पूर्व अध्यक्ष कल्पना पिया श्रेष्ठ, उषा भण्डारी, लक्ष्मी पौडेल, मिरा चौधरी, दीपा अधिकारी लगायत रहेका छन्।
४५ जिल्ला संघ रहेको एन्फामा खेलाडी, महिला, प्रशिक्षक र रेफ्री समिति आबद्ध छन् । ३ जिल्लामा विवाद भएपनि अन्य जिल्ला संघको निर्वाचन सम्पन्न भइसकेको छ । एन्फा निर्वाचन चैत १४ गतेका लागि तय भएको छ ।