काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसीले बुधबार हुने खेल जितेमा पुनः इन्डियन लिग (आइलिग) अंक तालिकाको शीर्षस्थानमा उक्लने छ । मिनेर्भाले आफ्नै मैदानमा आज सिलोङ लाजोङको सामना गर्नेछ ।
१२ खेलको समाप्तीमा मिनेर्भा २६ अंकसहित दोस्रो स्थानमा छ । दुई खेल बढी खेलेको निरोका २७ अंकसहित शीर्ष स्थानमा रहेको छ । गोकुलमलाई १–० ले हराउँदै निरोका शीर्षस्थानमा उक्लेको छ । १० टोली रहेको आइ लिगमा लाजोङ १७ अंकसहित पाँचौं स्थानमा छ ।
किरणले बुधबारको खेलमा टोलीको पोष्ट सम्हाले त्यो उनको चौथो खेल हुनेछ । किरण सम्मिलित टोली शुक्रबारको पछिल्लो खेलमा चर्चिल ब्रदर्शसँग २–१ ले पराजित भएको थियो । किरणको डेब्यूमा निरोकालाई १–० ले हराएको मिनेर्भा त्यसपछिको खेलमा इष्ट बंगालसँग २–२ को बराबरीमा रोकिएको थियो ।