काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा)को तीन जिल्ला पछि रेफ्री समितिको निर्वाचन पनि विवादमा परेको छ । बुद्धिबहादुर गुरुङको अध्यक्षतमा रेफ्रि समितिको निर्वाचन भएको भोली पल्ट बुधबार पाटन पुनरावेदनमा रिट परेको छ । पाटन उच्च अदालतले निर्वाचित पदाधिकारीहरुलाई सपथ नगर्न र नगराउन र पद वहाली नगराउनु एन्फाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
एन्फालाई विपक्षी बनाउँदै रेफ्री संघका पूर्व अध्यक्ष सुरेन्द्र सिख्राकार, किरण गिरी र प्रदेश अमात्यले रिट दायर गरेका थिए । अनन्त राज डुम्रेको एकल इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने नपर्ने विषयमा छलफल गर्न उच्च अदालतले फागुन २ गते दुवैपक्षलाई बोलाएको छ ।
रेफ्री निर्वाचन समितिको हकमा दोहोरो मापदण्ड देखिएकोले रिट दायर गरेको गिरीले बताए । ‘चितवनको जिल्ला समितिमा निर्वाचित भएका प्रकाश भुजेल र बारामा निर्वाचित भएकी सानुमाया मगरले रेफ्री समितिको निर्वाचनमा भाग लिन पाउने, ‘उनले भने, ‘अनि म मोरङको निर्वाचनमा लडेकोले नपाउने भन्ने दोहोरो मापदण्ड देखियो । कि त सबैले पाउनु पर्यो की कसैले पाउनु भएन । यो दोहोरो मापदण्डको विरुद्ध हामी अदालत गएका हौं ।’
गिरीका अनुसार निर्वाचन अघि उनले निर्वाचनमा भाग लिन नपाउने सुचना टास गरिएको थियो । एन्फाले भुजेल र मगरले दुवै जनाले जिल्लाको कार्यसमितिबाट राजीनामा दिएकोले रेफ्री समितिको निर्वाचनमा भाग लिन लिएको जवाफ भएको उल्लेख गर्दै गिरीले प्रति प्रश्न गरे,’ मत मोरङको अध्यक्षमा पराजित भएको थिए । मैले कहाँ राजीनामा दिने हो, त्यो एन्फाले देखाइदिनु पर्यो ।’
एन्फाका ४५ जिल्लामध्ये भक्तपुर र नवलपरासीको निर्वाचन सम्बन्धि मुद्दा अदालतमाा विचाराधिन छ भने मकवानपुरको निर्वाचनलाई एन्फाले नै मान्यता दिएको छैन । ४२ जिल्लामा भने निर्वाचन सम्पन्न भइसकेको छ ।
४५ जिल्ला, ए, बी सी डिभिजन क्लब र ४ समिति रेफ्री, खेलाडी, प्रशिक्षक र महिला समितिका प्रनिधिनिधिले एन्फा केन्द्रिय निर्वाचनमा भाग लिन पाउने प्रावधान छ । १७ सदस्यीय एन्फा केन्द्रिय समितिको निर्वाचन चैत १४ गतेका लागि तय भएको छ ।