default_image

8 years ago

April 8, 2018

विराट गोल्डकप फाइनल – आर्मी र थ्री स्टार कसले मार्ला बाजी ?

112 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – मोसफलका नकआउट प्रतियोगितामा विराट गोल्डकप फुटबल प्रतियोगिता अरु भन्दा भिन्न रह्यो । मोसफलमा सर्वाधिक पुरस्कार राशी राखेर होडबाजी गर्नुको सट्टा विराट गोल्डकपले राजधानी बाहिर पहिलो पटक दिवा रात्री प्रतियोगिता गर्ने जमर्को गर्यो । अन्य आयोजकको तुलनामा फरक प्रयास गरेपनि प्रतियोगिताको फाइनलमा भने घरेलु प्रतियोगितामा यो वर्ष दबदबा मच्चाएका दुई टोली नै भिड्दैछन् ।


नकआउट प्रतियोगिताका ११ वटा उपाधि जित्ने दुई टोली त्रिभुवन आर्मी क्लब र रुस्लान थ्री स्टार क्लब सोमबार विराट गोल्डकपको फाइनलमा भिड्ने तयारीमा छन् । सबैभन्दा बढी सफल आर्मीले ७ उपाधि जित्दा थ्री स्टारले ४ वटा उपाधि आफ्नो नाममा लेखाएको छ । झापा ११ लाई १–० गोल हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । सिएमजी क्लब संकटालाई शनिबार ४–० को फराकिलो गोल अन्तरले निराश बनाउँदै थ्रीस्टारले अन्तिम दुईको यात्रा तय गरेको थियो ।

सिजनमा आर्मी र थ्री स्टारबीच चौथो पटक भेट हुन लागेको हो । यसअघिका ३ मध्ये २ खेलमा आर्मी विजय भयो भने अर्को थ्री स्टारले जितेको थियो । खप्तड गोल्डकपको क्वारटफाइनलमा २–१ को जित हासिल गरेको आर्मीले सिमरा गोल्ड कपको फाइनलमा २–० ले थ्रीस्टारले हराएको थियो । मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा भने थ्री स्टारले आर्मीलाई टाईब्रेकरमा ५–४ ले हराएको थियो ।

११ वटा प्रतियोगितामा सहभागी भएकोमा सातवटाको उपाधि कब्जा गरेको आर्मी सिजनकै सर्वाधिक उपाधि जित्ने टिम हो । आर्मीले यो सिजन वीरगन्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभित्ता, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन बम्भज स्मृति र झापा गोल्ड कपको उपाधि जितेको थियो ।

१० वटा प्रतियोगिता खेलेको थ्रीस्टारले आठवटामा फाइनल पुगे पनि उपाधि भने चारवटा मात्रै जितेको छ । टोलीले इटहरीको मदन भण्डारी, धरानको बुढासुब्बा, बुटवलको तिलोत्तमा र बुटवलकै मदन भण्डारी गोल्डकपको उपाधि जितेको थियो ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले उपाधि रक्षाका लागि उपयुक्त रणनीति तयार पारेर उत्कृष्ट प्रदर्शन गरिने बताए । ‘थ्री स्टार विरुद्ध सिजनमा तेस्रो जित निकाल्ने हाम्रो तयारी हो,’ उनले भने, ‘उपाधि भिडन्तका लागि संघर्ष गर्नु पर्ने भएकाले पनि बढी नै मेहनत गरिने छ ।’ उनले यस अघि सम्मको तेस्रो भेटमा दुईपटक जित निकालिसकेका कारण चौथो भेटमा पनि जित निश्चित रहेको बताए । न्यौपानेले मजवुत टिम भएकाले दुवै टिमबीचको प्रतिष्पर्धा ५०/५० को अवस्थामा रहने उनको विश्लेषण छ ।

‘लगातार खेलिरहनु परेको छ । फ्लडलाइटमा खेलेको अनुभव पनि धेरै खेलाडीमा छैन,’ उनले भने, ‘केही राम्रा खेलाडी घाइते अवस्थामा पनि छन् । तर पनि जित निकाल्नेमा ढुक्क छौं ।’ आर्मी भरत खवासको कप्तानीमा स्टार खेलाडी नवयुग श्रेष्ठ लगायतलाई लिएर मैदानमा जाँदैछन् । प्रशिक्षक न्यौपानेले विभागिय टिम भएकाले नियमितको तालिम र सिजनका धेरै रिजल्ट आफ्नो पक्षमा परेका कारण उच्च मनोवलका साथमा मैदानमा उत्रने जानकारी दिए । उनले खेलाडीलाई विपक्षीलाई सुरुवातदेखि नै प्रेसर दिएर एट्याकिङ गेम खेल्ने पनि बताए ।

‘फाइनल खेल भएकाले यस अघिका कमिकमजोरीलाई सुधार गर्दै अघि बढ्ने छौं,’ उनले भने, ‘थ्रीस्टारका धेरै कमजोरीलाई पहिल्याउँदै जित निकाल्ने सवालमा खेलाडी चुक्ने छैनन् ।’ न्यौपानेले थ्रीस्टारबाट खेलिरहेका तीन जना विदेशी खेलाडीलाई सुरुदेखि नै रोकेर अर्थाथ ट्रयापमा पारेर खेल्ने तयारी रहेको जानकारी दिए । उनले जितको मुख्य आधार खेलाडीको फिटनेश र टिम वर्क नै रहेको बताए ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आर्मीसंग यस अघि दुईवटा गोल्डकपमा बेहोरेको हारको बद्ला लिने अवसरका रुपमा विराट गोल्डकपलाई लिइएको बताउछन् । ‘दुवै टिम उत्तिकै सक्षम र मजवुत छन्,’ आर्मीका पूर्व प्रशिक्षक समेत रहेका उनले भने, ‘थ्रीस्टार विरुद्ध अवसरको सिर्जना गरेर चान्स पाउन साथ ‘क्लिक’ गर्ने हाम्रो रणनीति छ ।’ दुवै टिमबीचको खेल बराबरी रहेका कारण सुरुवाती गोल गर्ने टिमले नतिजा आफ्नो पक्षमा पार्ने पनि बताए । फुटबलमा फर्किएको छोटो समयमै थ्रीस्टारले राम्रो प्रगति गरिरहेको जानकारी दिंदै उनले विराट गोल्डकपमा जित निकाल्ने कुरा पूर्ण रुपमा विश्वस्त रहेको बताए ।

‘दुई टिमबीच धेरै राम्रो प्रतिष्पर्धा हुन्छ,’ केसीले भने, ‘मेहनत गरेर खेल्दै नतिजा उम्कन नदिने हिसाबमा अघि बढ्ने छौं ।’ आर्मीका पूर्व प्रशिक्षक भएका कारण पनि उक्त टिमले प्रदर्शनमा अपनाउने रणनीतिका बारेमा केसी जानकार रहेको धेरैको बुझाई छ । निराजन खड्काको कप्तानीमा मैदानमा जाने तयारीमा रहेको थ्रीस्टारका साथमा जापानीज खेलाडी ताकायु, स्टार खेलाडी विमल घर्तीमगर, बुद्ध चेम्जोङ र विदेशी खेलाडीहरु मार्टिन र पिटर लगायत छन् ।

प्रतियोगितामा विजेता टिमले १२ लाख ७१ हजार र दोस्रो हुने टोलीले ५ लाख ५१ हजार रुैपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने आयोजक समितिका अध्यक्ष नविन रिजालले बताए । प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, रक्षक, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र उत्कृष्ट टोलीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.