काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि नेपाली युवा फुटबल टोलीले थाइल्यान्डमा अन्तिम तयारी गर्ने भएको छ । एसियाडलाई लक्षित गर्दै नेपाली यू २३ टोलीले थाइल्यान्डमा २ वटा मैत्रीपूर्ण खेल खेल्ने अलिख नेपाल फुटबल संघ (एन्फा) ले जनाएका छन् ।
एन्फाका प्रवक्ता किरण राईले युवा टोलीले थाइल्यान्डको राष्ट्रिय टोली र युनिभर्सिटी स्तरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने बताएका छन् । एन्फाको प्रस्तावलाई थाइल्यान्ड फुटबल संघले स्वीकार गरेपनि मैत्रीपूर्ण खेल तय भएको राईले जानकारी दिए ।
प्रवक्ता राईका अनुसार नेपाली टोलीले १ देखि ४ अगस्ट भित्र दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । अहिले नेपाली टोली सातदोबाटोस्थित एन्फा मुख्यालयमा रहेको एस्ट्रो टर्फमा निरन्तर अभ्यास गरिरहेको छ । एसियाडका लागि एन्फाले यसअघि नै २० सदस्यीय टिमको घोषणा गरिसकेको छ । एसियन गेम्सको फुटबल स्पर्धामा २३ बर्षका मुनिका खेलाडी समावेश हुनेछन् ।
जसमा २३ बर्षमाथिका ३ खेलाडी राख्न पाउने व्यवस्था छ । जसमा सिनियर खेलाडी गोलरक्षक किरण चेम्जोङ, भरत खवास र रोहित चन्द समावेश छन् ।नेपाल समूह ‘डी’ मा परेपनि प्रतियोगितामा सिरिया र प्यालेस्टाइनलाई पनि समावेश गर्नुपर्ने भएका कारण फेरि खेल तालिका सार्वजनिक गरिने एसियाड आयोजक कमिटिले जनाएको छ । एसियाली खेलकुदको कुम्भमेला एसियन गेम्स इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म हुदैछ ।