एजेन्सी – फिफा क्लब विश्वकपको साविक विजेता रियल म्याड्रिडले उपाधि रक्षाका लागि सेमिफाइनलमा जापानी क्लब काशीमा एन्टलर्सको सामना गर्ने भएको छ ।
एन्टलर्सले शनिबार भएको क्वाटरफाइनलमा मेक्सिकोको सिभास ग्वाडलाहारालाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सिभासले खेलको पहिलो हाफमा एन्जल जल्दिभरको गोलमा सुरुवाती अग्रता लिएपनि रयोटा नागकीले बराबरी गोल फर्काए ।
एन्टलर्सका लागि सर्जिन्होले ६९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । हिरोकी आबेले लगत्तै अर्को गोल गर्दै जापानी टोलीको अग्रता दोब्बर पारे । लिओ सिल्भाले इन्ज्युरी समयमा आत्मघाती गोल गर्दै अग्रता कम गरेपनि एन्टलर्स जित हासिल गर्न सफल रहयो ।
रियलले अब बुधबार हुने सेमिफाइनलमा एन्टलर्ससँग खेल्नेछ । यसअघि सन् २०१६ को फाइनलमा यी दुई टोली खेलेका थिए । त्यसबेला अतिरिक्त समयसम्म पुगेको खेलमा रियल ४-२ ले विजयी रहेको थियो ।
यस संस्करणको दोस्रो सेमिफाइनलमा आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्सको अल आइन र कोपा लिबर्टाडोरेसको च्याम्पियन्स रिभर प्लेट भिड्नेछन् ।