वेम्वली (एजेन्सी) – दक्षिण कोरियन खेलाडी ह्युङ मिन सन प्रेरित खेलमा टोटेनहमले बोर्नामाउथमाथि प्रभावशाली जित दर्ता गर्दै इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
टोटेनहमले बोर्नामाउथलाई ५–० ले पराजित गरेको हो । यससँगै टोटेनहमले म्यानचेस्टर सिटीलाई १ अंकले पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको हो । टोटेनहमको १९ खेलबाट ४५ अंक पुग्दा सिटीको समान खेलबाटै ४४ अंक रहेको छ । शीर्षस्थानको लिभरपुलको ५१ अंक पुगेको छ ।
टोटेनहमको प्रभावशाली जितमा ह्युङ मिन सनले २ तथा क्रिस्टियन इरिक्सन, लुकास मौरा र ह्यारी केनले समान १ गोल गरे । वेम्वली स्टेडियममा एकपक्षीय बनेको खेलमा टोटेनहमले खेलको १६औं मिनेटमा क्रिस्टियन इरिक्सनको गोलबाट खेलमा अग्रता बनाएको थियो ।
२३औं मिनेटमा सनले दोस्रो गोल गरे । ३५औं मिनेटमा लुकास मौराले गोल गरेपछि टोटेनहमले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । सबै तीन गोलमा केल वार्करले सहायता दिएका थिए । ६१औं मिनेटमा ह्यारी केनले तथा ७०औं मिनेटमा सनल गोल गर्दै टोटेनहमलाई ५–० को शानदार जित दिलाए ।