काठमाडौं (हाम्रो खेलकुद)– आयोजक फारवेष्ट पशुपति युवा क्लब र पिएफए अत्तरिया फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । धनगढी रंगशालामा बिहिबार भएको क्वार्टरफाइनलमा आयोजक फारवेष्टले नबोबुद्ध युगा क्लबलाई ३–२ ले हराएको छ । त्यस्तै पहिलो खेलमा पिएफएले मनकामना युवा क्लब जुगेडालाई १–० ले हराएको थियो ।
आशिष श्रेष्ठले १२ औं मिनेटमा गरेको गोल पिएफएको अन्तिम चारको यात्राका लागि पर्याप्त रह्यो । त्यो खेलमा मनकामनाका अन्जन थापा म्यान अफ दी म्याच घोषित भए ।
अर्को खेलमा दुई पटक लिएको अग्रता जोगाउन नसक्दा नबोबुद्ध क्वार्टरफाइनलबाट बाहिरिएको छ । सन्तोष थापाको गोलबाट नमो बुद्धले २२ औं मिनेटमा अग्रता लिएको थियो । तर, अग्रता १० मिनेट पनि टिकेन । फारवेष्टका लागि ३२ औं मिनेटमा कुँवेर सिंहले बराबरी गोल फर्काए ।
४७ औं मिनेटमा मिनेटमा जनक बल गोल गर्दै नवो बुद्धलाई पुनः अंकता दिलाए । तर ५७ औं मिनेटमा चेतन कठायतले आयोजक टोलीका लागि बराबरी गोल गरे । ७३ औं मिनेटमा महेश चन्दले गरेको गोलमा फारवेष्टले अन्तिम चारको यात्रा तय गरेको थियो । नवोबुद्धका गोलकिपर अभी बिसी खेलको म्यान अफ दी म्याच चुनिए ।
सहारा युवा क्लब पहमानपुर र सुदुरपश्चिम–११ यसअघि नै से्मिफाइनल पुगिसेको छ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ । पहिलो सेमिफाइनल पिएफए र सुदुरपश्चिम– ११ तथा अर्को सेमिफाइनल सहारा र फारवेष्टबीच हुनेछ । प्रतियोगिताको विजेताले ४ लाख र दोस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । फाइनल शनिबार हुनेछ ।