काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज (बीबीसी) ले एनआइबिएल फ्रेन्डस् क्लबमाथि सहज जित निकालेको छ । बीबीसीले फ्रेन्डसमाथि ३–० को सहज जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा बीबीसीलाई जिताउन काजिम बुसारीले २ तथा अब्दु करिमले एक गोल गरे । निराशजनक बनेको खेलमा बीबीसीले खेलको १६औं मिनेटमा काजिमको गोलबाट खेलमा अग्रता बनाएको थियो । पहिलो हाफमा १–० ले अघि रहेको बीबीसीले दोस्रो हाफमा २ गोल थप्दै जित सुनिश्चित गर्यो ।
४६औं मिनेटमा काजिमले व्यक्तिगत दोस्रो गोल गर्दा बीबीसीले खेलमा २–० को अग्रता बनाएको थियो । अब्दु करिमले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै बीबीसीलाई ३–० को सहज जित दिलाए । जितपछि बीबीसी १२ खेलबाट ९ अंक जोडेर ११औं थानमा उक्लिएको छ । पराजित फ्रेन्डस् समान ९ अंक रहेपनि गोल अन्तरमा पछि पर्दै १२औं स्थानमा झरेको छ ।