दिपक बोहोरा, पाँचथर
फिदिममा जारी सुरु दशौं रुस्लान फाल्गुनन्द गोल्डकपमा आयोजक एनएमबि फिदिम स्र्पोटिङ क्लबलाई टाइब्रेकरमा हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रबेश गरेका छ ।
निर्धारीत समयमा २-२ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । आर्मीले टाइब्रेकरमा ४–१ को जित दर्ता गर्यो । आर्मीको जितमा गोलरक्षक विश्वास चौधरी नायक रहे । चौधरीले विपक्षीका दुईवटा प्रहार बचाए । जुनियर टोली लिएर पाँचथर आएको आर्मीले अग्रता जोगाउन नसक्दा जितको लागी टाइब्रेकर सम्म कुर्नुपर्यो । टाइब्रेकरमा आर्मीका विश्वास चैधरी, एरिक विष्ट ,राजीव गुरुङ र राजेश पौडेल गोल गरे । फिदिमका लागी भने प्रबिन जबेगुले मात्र गोल गर्न सके । फिदिमका शरण बस्नेत र ओम बिक्रम घलेको प्रहार आर्मीका गोलरक्षक विश्वास चौधरीले बचाएका थिए ।
निकै प्रतिस्पर्धात्मक खेलको ३१ औ मिनेटमा आर्मीका राजिव गुरुङले गोल गर्दै अग्रता दिलाएका थिए । श्रीराम चौधरीको पासलाइ सदुपयोग गर्दै गुरुङले गोल गरेका थिए । ३६ औं मिनेटमा फिदिमका प्रबिन जबेगुले बराबरी गोल फर्काए । शरण बस्नेतले फ्याकेको थ्रोइन बललाइ हेडर गर्दै जबेगुले गोल गरेका थिए । एक मिनेट पनि नबित्दै फिदिमका लागी विदेशी खेलाडी स्टोफिनले गोल गर्दै अग्राता दोब्बर पारे । आर्मीका गोलरक्षक धेरै अगाडी बढेको बेला स्टोफिनले गोल गरेका थिए । फिदिमको अग्रता लामो समय रहन सकेन । ७३ औं मिनेटमा राजीव गुरुङले गोल गर्दै आर्मीलाइ खेलमा फर्काए ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा आर्मी आक्रमक बनेको थियो । पहिलो हाफमा आर्मीका गोलरक्षक विश्वास चौधरीले केहि उत्कृष्ट बचाउ गरेका थिए । टाइब्रेकरमा दुई प्रहार बचाएका आर्मीका गोलरक्षक विश्वास चौधारी म्यान अफ दि म्याच बन्दै नगद दश हजार प्राप्त गरे ।
खेलाडीहरुको तालमेल मिल्न नसक्दा ट्राइबेकरमा हार्नु परेको फिदिमका प्रशिक्षक भिष्म आङदेम्बेले बताए । खेलमैदानको राम्रो अनुभव कम हुँदा अग्रता बनाए पनि जितको लागी टाइब्रेकर कुर्नुपरेको आर्मीका प्रशिक्षक गंगाराम देउजाले बताए ।
पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गर्ने छ । गोल्डकपमा मंगलबार सरस्वती युवा क्लबले सुनसरी ११ को सामना गर्नेछ ।