वीरगंज (हाम्रो खेलकुद) – आयोजक वीरगन्ज–११ दोस्रो विशाल गोल्डकप फुटबल प्रतियोगितामा विजयी भएको छ । शनिबारबाट सुरु भएको खेलमा आयोजक वीरगन्जले भारतको कोलकाता साउथर्न समितिलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै विजयी भएको हो ।
शनिबार वीरगन्जको नारायणी रंगशालामा भएको खेलको निर्धारत समयमा कुनै पनि टोलीले गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा आयोजक वीरगन्जले बाजी मार्यो । पेनाल्टी सुटआउटमा वीरगन्जका चारै खेलाडीले गोल गर्न सफल हुदा कोलकाताका २ खेलाडीको प्रहार वीरगन्जका गोलरक्षक दिपेश यादवले बचाएका थिए ।
विशाल गोल्डकपमा नेपाल र भारतका ८ गरी टिमको सहभागिता रहेको छ । आगामी माघ ५ गते सकिने प्रतियोगिताको आयोजना बिशाल मेमोरियल फाउण्डेशनले गरेको हो । निकै नै जीर्ण नारायणी रंगशालामा खेलाडीको मात्र नभई आमखेल प्रेमीहरुको पनि ध्यान जाओस् र राज्यका जिम्मेवार तहमा हुने व्यक्तिहरुमा दवाव सिर्जना होस् भन्ने हेतुले पूर्व राष्ट्रिय खेलाडी बिशालजंग राणाको स्मृतिमा गत बर्षबाट प्रतियोगिता सुरु गरिएको आयोजकले जनाएको छ ।
डेढ दशकपछि अघिल्लो बर्षबाट सुरु भएको प्रतियोगितामा नारायणी रंगशालाको पूर्व र पश्चिमका प्याराफिटमा मात्र दर्शकलाई बस्न आयोजक र सुरक्षाकर्मीले अनुमति दिएको छ ।