एजेन्सी – युरोपली च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा आयाक्सविरुद्ध रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले जानाजान पहेंलो कार्ड पाएको भन्दै यूईएफएले कारवाही गर्ने तयारी गरेको छ ।

पछिल्लो साता भएको खेलको ८९ औं मिनेटमा रामोसले कास्पर डोलबर्गलाई फल गर्दै पहेंलो कार्ड पाएका थिए । प्रतियोगिताको समूह चरणमा एक पहेंलो कार्ड पाएका उनले यस कार्डसँगै दोस्रो लेगको खेल पनि गुमाउने भएका थिए । प्रतियोगिताको मुख्य पाटोमा प्रतिबन्ध नहोस भनेर आयाक्सविरुद्ध तुलनात्मक रुपमा सहज खेलमा उनले जानाजान पहेंलो कार्ड पाएको आरोप यूईएफएको छ । यसबारे छिनोफानो २८ फेब्रुअरीमा हुनेछ ।
रामोस आफैंले खेलपछि ‘मैले जानेर त्यो गरेको हैन भन्दा म झुट बोलिरहेको हुन्छु’ भन्ने अभिव्यक्ति दिएका थिए । तर पछि रामोसले उक्त भनाइलाई प्रष्ट पार्दै कार्ड पाउने नभएर फल हान्ने जानाजान गरेको बताए । ‘खेलको अन्तिम समयमा आयाक्सले आक्रमणमा आएको खण्डमा मैले जानेर नै फल हानेको हो । कार्ड पाउने मेरो सोच थिएन,’ उनले भने ।
यूईएफएले क्वाटरफाइनल पछि सबै कार्ड शून्य बनाउने नियमले रामोस आयक्सविरुद्ध खेलमा नखेले अन्य सबै खेलमा उपस्थित हुन पाउने थिए । तर अब उनले जानाजान नै कार्ड पाएको निर्णय आएमा उनले अर्को एक खेल गुमाउने प्रावधान रहेको छ । यसो भएमा उनले रियल अर्को चरण पुगेको खण्डमा पहिलो लेग गुमाउने सम्भावना प्रबल छ ।