बिर्तामोड (हाम्रो खेलकुद) – शनिबारबाट आयोजना हुने चौथो संस्करणको मग मग झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार उद्घाटन खेलमा आयोजक झापा–११ ले साहरा क्लब पोखराको सामना गर्नेछ । यस्तै अघिल्लो वर्षको च्याम्पियन त्रिभुवन आर्मी क्लब र सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब एक पोलमा परेको छ । जसअनुसार यि दुई टोलीबीच सेमिफाइनलमा भेट हुने पक्का भएको छ ।
बाई पाएको आर्मीले मोरङ–११ र एपीएफबीचको विजेतासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । यस्तै मनाङले क्वाटरफाइनलमा लाली रुपन्देही ११सँग प्रतिस्पर्धा गर्नेछ । आर्मी र मनाङले जित हात पारे सेमिफाइनलमा भेट हुनेछ । यस्तै अर्काे पोलमा थ्री स्टार र नेपाल पुलिस क्लबले क्वाटरफाइनलमै प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा आयोजक झापासहित साहरा क्लब पोखरा, हङकङ नेप्लिज एकेडेमी, थ्री स्टार, नेपाल पुलिस क्लब, मोरङ–११, एपीएफ, त्रिभुवन आर्मी, मनाङ र रुपन्देही गरी १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार रुपैया तथा दोस्रो हुनेले ६ लाख ५ हजार रुपैया हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगिता फागुन १८ गतेबाट २७ गतेसम्म डोमालाल राजवंशी रंगशालामा आयोजना हुनेछ ।
अघिल्लो संस्करणमा आर्मीले आयोजक झापा–११ लाई सडनडेथमा ८–७ ले हराएर च्याम्पियन बनेको थियो ।