एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार हुने खेलमा अंक तालिकाका शीर्ष दुई टोली युभेन्ट्स र नेपोली आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार सोमबार विहान १:३० बजे सुरु हुनेछ ।

युभेन्ट्स अंक तालिकामा नेपोलीभन्दा १३ अंक अगाडी रहेको छ । युरोपेली च्याम्पियन्स लिगलाई प्रमुख लक्ष्य बनाएको युभेले लिगमा भने सहजै उपाधि हासिल गर्ने सम्भावना बढेको छ । नेपोलीलाई पराजित गरेमा लिग उपाधिबारे युभेन्ट्सले धेरै चिन्ता लिनुपर्ने देखिन्न । यद्यपी च्याम्पियन्स लिगमा २-० ले पछाडी परेको युभेले लिगभन्दा एटलेटिको विरुद्ध खेलको सोच राख्दै केहि कमजोर टोली छनोट गर्न सक्नेछ ।
नेपोलीका लागि यस खेलमा राउल एल्बिओल र अमिन युनेस चोटका कारण टोलीमा रहनेछैनन् । लोरेन्जो इन्सिगने टोलीमा फर्कनु नेपोलीका लागि केहि सहज रहनेछ । युभेन्ट्सले जुआन क्वाडराडो र सामी खेडिराको साथ अझै पाउनेछैन । क्रिस्टियानो रोनाल्डो पनि कुर्कुचचामा चोटका कारण सुरुवाती रोजाइमा खेल्ने नखेल्ने अझै पक्का भइसकेको छैन । एमरे च्यान भने टोलीमा फर्कनेछन् ।