झापा (हाम्रो खेलकुद) –मग मग झापा गोल्डकप आयोजक समितिले झापा दुई पूर्व खेलाडीलाई सम्मान गर्ने भएको छ । भद्रपुरका गम्भिर राई र महिला टोलीकी पूर्व गोलकिपर अस्मिता खवासलाई सम्मान गरिने आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार राईले जानकारी दिएका छन् ।

खवास पनि १३ वर्षको उमेरमै राष्ट्रिय टोलीको सदस्य बनेकी थिइन् । सन् २००२ मा राष्ट्रिय टिममा डेब्यू गरेकी खवास यू १९ महिला फुटबल टोलीकी प्रशिक्षक हुन् । उनी २००२ मा नर्वेमा भएको नर्वे कप, २००४ मा चीनमा भएको एसियन गेम, २०१० मा बंगलादेशमा भएको सागमा नेपाली टोलीकी सदस्य थिइन् ।
दुर्घटनामा परेपछि फुटबल खेल्न छाडेकी खवासले त्यसपछि प्रशिक्षणमा आबद्ध भएकी थिइन् । झापामा साइन महिला फुटबल क्लब स्थापना गर्दै अस्मिताले महिला फुटबल खेलाडी उत्पादन समेत केन्द्रित रहेकी छिन् ।
राईले विद्यालयस्तरबाट फुटबल खेल्न सुरु गरेका थिए । उनले २०५२ मा एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए । त्यहि बर्ष एनआरटी सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको थियो । एनआरटीबाट माल्दिभ्समा समेत फुटबल खेल्न गएका राईले २०५३ मा थाइल्यान्डमा भएको यू १९ च्याम्पियनसिपमा ३ गोल गरेका थिए ।
तीन साताअघि भारतको उडिसामा सम्पन्न हिरो कपमा नेपाली महिला फुटबल टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका राई मुनाल क्लबका प्रशिक्षकसमेत हुन् । हिरो कपमा नेपाली टोली दोस्रो भएको थियो ।
झापा गोल्डकपमा हरेक वर्ष पूर्व खेलाडीलाई सम्मान गर्ने परम्परा रहेको छ । पूर्व राष्ट्रिय खेलाडी सैनिकका राम दर्शन गुरुङ र सुरुङ्गाका सन्त रायामाझीलाई सम्मान गरिएको थियो ।
झापा गोल्डकपको सोमबार हुने फाइनलमा उनीहरुलाई सम्मान गरिनेछ । यसपटक पनि उपाधिका लागि आयोजक मगमग झापा ११ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।