एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल म्याड्रिडले रियल भालाडोलिडलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । रियलको जितमा फरवार्ड करीम बेन्जेमाले २ गोल र १ असिस्ट प्रदान गरे ।

खेलको २९ अौं मिनेटमा रियल भालाडोलिडले अनुआरको गोलमा अग्रता लिएको थियो । उनले सर्जियो गुआर्डिअोलाको पासलाई सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसअघि रुबेन अल्काराजले पेनाल्टीमा गोल गर्न नसक्दा भालाडोलिड अग्रता लिनबाट बञ्चित भएको थियो । सर्जियोको दुई गोललाई रेफ्रीले मान्यता नदिँदा म्याड्रिड भाग्यमानी सावित भयो ।
गोल खाएको ५ मिनेटमा नै रियलले बराबरी गोल फर्कायो । नाचोको पासमा राफेल भारानेले गोल गर्दै १-१ को बराबरीमा ल्याए । दोस्रो हाफमा रियलले तीन गोल थप्यो । ५१ अौं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेलमा म्याड्रिडलाई अग्रता दिलाए । त्यसको केहिबेरमा नै टोनी क्रुसको क्रसमा बेन्जेमाले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको ८० अौं मिनेटमा रियलका मिडफिल्डर क्यासेमिरो दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपनि रियल अर्को गोल थप्न सफल रह्यो । लुका मोड्रिचले बेन्जेमाको पासलाई सदुपयोग गर्दै रियलको जित सुनिश्चित गरे ।
यस नतिजासँगै रियलले २७ खेलमा ५१ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको २७ खेलमा ६३ तथा एट्लेटिको म्याड्रिडको ५६ अंक छ ।