एजेन्सी – यूईएफए च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोले आफ्नो छुट्टै पहिचान बनाएका छन् । रियल म्याड्रिडमा रहँदा पछिल्लो तीन संस्करण लगातार उपाधि जिताएका रोनाल्डोले हालसम्म ५ उपाधि आफ्नो नाम गरिसकेका छन् । उनले यसक्रममा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा पनि आफूलाई स्थापित गरेका छन् ।
रोनाल्डोले च्याम्पियन्स लिगमा केहि यस्ता जादुमयी क्षण बनाएका छन् जुन अन्य खेलाडीको करिअरमा एक पटक पनि बिरलै हुने गर्छ । मंगलबार युभेन्ट्सका लागि एटलेटिको म्याड्रिडविरुद्ध ह्याट्रिक गर्दै रोनाल्डोले उक्त जादुमयी क्षणको सुचिमा अर्को क्षण थपे । हेर्नुहोस ५ क्षण :
रियल म्याड्रिड ३-० वल्फ्सबर्ग (समग्रमा ३-२) : २०१५-१६ क्वाटरफाइनल

रियल पहिलो लेगमा २-० ले पराजित हुँदै निकै कठिन स्थितिमा दोस्रो लेग घरेलु मैदानमा खेलिरहेको थियो । तर रोनाल्डोले खेलको १८ मिनेट नबित्दै रोनाल्डोले २ गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७७ औं मिनेटमा रोनाल्डोले फ्रिकिकमा सिधै गोल गर्दै रियललाई सेमिफाइनलमा पुर्याए ।
रियल म्याड्रिड ४-२ बायर्न म्युनिख – अतिरिक्त समयमा (समग्रमा ६-३) : २०१६-१७ क्वाटरफाइनल

रोनाल्डोले खेलको निर्धारित समयमा एक गोल तथा खेल बराबरीमा सकिएपछि भएको अतिरिक्त समयमा २ गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । उनले तेस्रो गोल गर्ने क्रममा मार्सेलोको क्रसको सदुपयोग गर्दै च्याम्पियन्स लिगमा १ सय गोल पूरा गरे ।
रियल म्याड्रिड ३-० एटलेटिको म्याड्रिड : २०१६-१७ सेमिफाइनल

रोनाल्डोले च्याम्पियन्स लिगमा सातौं ह्याट्रिक गर्ने क्रममा एटलेटिको म्याड्रिडलाई समस्यामा पारे । उनले उक्त खेलमा पेनाल्टी क्षेत्रभित्र लिएको तीनै टचलाई गोलमा परिणत गरेका थिए । उनको ह्याट्रिकसँगै रियलले पहिलो लेगमा ३-० को अग्रता बनाएको थियो ।
युभेन्टस १-४ रियल म्याड्रिड : २०१६-१७ फाइनल

रोनाल्डोले कार्डिफमा भएको फाइनलमा युभेविरुद्ध २ गोल गरे । उनले यसक्रममा च्याम्पियन्स लिगको फाइनलमा तेस्रो पटक गोल गरे र तीनैमा रियल विजयी रहयो । उक्त प्रतियोगितामा रोनाल्डोले अन्तिम ५ खेलमा १० गोल गरे जसमा माथि उल्लेखित २ ह्याट्रिक सामेल थिए ।
युभेन्टस ०-३ रियल म्याड्रिड : २०१७-१८ क्वाटरफाइनल

रोनाल्डोले टुरिनमा बाइसाइकल किकमा गरेको उत्कृष्ट गोल हालसम्म कै उत्कृष्ट मध्य गनिन्छ । गोलरक्षकमा जियानलुइजी बुफोन हुनुले उक्त गोलको महत्त्व थप बढाएको छ । उक्त गोललाई युभेका समर्थकले पनि खुलेर प्रशंसा गरे जसकारण पनि उनी हाल युभेन्टस पुगेको मानिन्छ । उक्त खेलमा २ गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगमा लगातार १० खेलमा गोल गर्ने पहिलो खेलाडी भने ।