एजेन्सी – यूईएफए च्याम्पियन्स लिगमा यो सिजन क्याटलान क्लब बार्सिलोना र फ्रान्सेली क्लब लियोन अपराजित टोली हुन् । यीनै दुई टोली च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति प्रतिस्पर्धा गर्दैछन् ।

बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुने खेल नेपाली समयअनुसार आज राति १ः४५ बजेपछि सुरु हुँदैछ । लियोनको मैदानको भएको पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो । घरेलु मैदानमा बार्सिलोना लियोनलाई पराजित गर्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । बार्सिलोनाले यसअघि घरेलु मैदानमा भएको सबै तीन खेलमा लियोनलाई पराजित गरेको छ ।
क्याटलान क्लबसँग लियोनेल मेस्सी, लुइस स्वारेज, औसमाने डेम्वेले, फिलिपे कौटिन्हो, इभान राकिटिच र आर्थरजस्ता खेलाडीहरु रहेका छन् । उनीहरुले जुनसुकै बेला खेल परिवर्तन गर्न सक्दछन् । बार्सिलोनाले २०१३ मा जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखसँग ३–० ले पराजित भएयता २९ घरेलु खेलमा २६ खेलमा जित हात पार्दा ३ खेल बराबरी खेलेको छ । त्यसैले घरेलु मैदानमा बार्सिलोना लियोनमाथि हावी हुने देखिएको छ ।
यता, लियोन बार्सिलोनालाई उसकै मैदानमा बार्सिलोनालाई स्तब्ध बनाउदै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । तर, नकआउटमा लियोनको इतिहास राम्रो छैन । च्याम्पियन्स लिगको पछिल्ला ९ नकआउट खेलमा लियोनले दुई बराबरी खेलेको इतिहास छ । उक्त सिजन अपराजित रहेर एइके एथेन्स (२००२–०३) र ग्लास्गो रेन्जर्स (२००६–०७) को कीर्तिमानलाई बराबरी बनाएको लियोन गोलसहितको बराबरी भए अवे गोलको आधारमा अघि बढ्नेछ । बार्सिलोनालाई भने निश्चित जित आवश्यक छ ।