मड्रिड (एजेन्सी)-साउल निगुइजले एकल प्रयासमा गोल गरेपछि एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई १-० ले हराएको छ । बायर्नको कमजोर रक्षापक्तिको फाइदा उठाउँदै निगुइजले खेलको ११ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए । झिनो अग्रताका साथ एट्लेटिकोले अर्को साता जर्मन भ्रमण गर्नेछ । सबै खाले प्रतियोगितामा गरि निगुइजको त्यो नवौं गोल हो ।
दोस्रो हाफमा खेलमा बायर्नले नियन्त्रणमा राखेपनि बराबरी गोल गर्न सकेन । डेभिड अल्बाको प्रहार पोष्टमा लागेर फर्कियो भने अर्टुरो भिडाको प्रहार रोकिएको थियो । दोस्रो हाफमा फर्नान्डो टोरेजले गोलको प्रयास गरेपनि सफल भएनन् ।
अर्को साता बायर्नको एलियान्ज एरिनामा हुने खेलको नतिजापछि अघि बढ्ने टोलीले मे २८ मा रियाल मड्रिड वा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ छ । रियाल र सिटीबीच सेमिफाइनलको पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो ।