काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले टोकियो ओलम्पिक २०२० को एसिया क्षेत्र अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्दैछ । पछिल्लो खेलबाट प्रशिक्षक हरि खड्काले ३ खेलाडी परिवर्तन गरेका छन् ।

गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना रानामगरले पहिलो रोजाईमा मौका पाएकी छिन् । अन्जना यू-१९ टोलीकी पहिलो रोजाईकी गोलरक्षक हुन् । यसबाहेक डिफेन्समा पनि दुई परिवर्तन भएको छ । मनमाया लिम्बु र हिराकुमारी भुजेलको स्थानमा अमृता जैशी र कविता धिमाल टोलीमा आएका छन् । यसबाहेक मिडफिल्ड र फरवार्डमा भने कुनै परिवर्तन गरिएको छैन ।
नेपाल पहिलो खेलमा आयोजक म्यानमारसँग ३-१ र दोस्रो खेलमा भारतसँग पनि सोहि अन्तरमा पराजित भएको हो । दुवै खेलमा नेपालले पहिलो हाफमा सुरुवाती गोल खाएपनि बराबरी गोल गर्न भने सफल भएको थियो । दोस्रो हाफमा नेपालले सम्हालिन नसक्दा पराजय भोग्नुपरेको थियो । नेपाल अन्तिम खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको इन्डोनेसियालाई पराजित गर्दै सुखद अन्त्य गर्ने सुरमा हुनेछ ।
इन्डोनेसियाले पनि प्रतियोगिताका सुरुवाती दुवै खेल हारेको छ । पहिलो खेलमा भारतसँग २-० ले पराजित भएको इन्डोनेसिया दोस्रो खेलमा म्यानमारसँग ६-० ले पराजित भएको थियो । नेपालले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक इन्डोनेसियाको सामना गर्न लागेको हो । समूहको अर्को खेलमा भारत र म्यानमार पनि भिड्नेछन् । यस खेलको विजेताले अर्को चरणमा स्थान बनाउनेछ ।
नेपालको सुरुवाती ११ :
अन्जना रानामगर
अमृता जैशी – पुनम जर्घामगर – गीता राना – कविता धिमाल
मन्जलीकुमारी योन्जन – दिप राई – रेनुका नगरकोटे – अनिता बस्नेत
निरु थापा
सावित्र भण्डारी