काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको एन्फा अवार्ड अन्तर्गत उदीयमान खेलाडीको अवार्ड मञ्जलीकुमारी योन्जन र अभिषेक रिजालले पाएका छन् ।

राष्ट्रिय टोलीका पूर्व कप्तान मणी विक्रम शाहको स्मृतिमा दिइएको पुरस्कारको महिलातर्फ एपीएफकी मन्जलीकुमारीले पाइन् । उनले स्कुटर र १ लाख रुपैयाँ प्राप्त गरिन् । मन्जलीले राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्दै क्लबका लागि पनि नियमित उपाधि जितेकी थिइन् ।

पुरुषतर्फ अभिषेक रिजालले अवार्ड हात पारे । उनले मोटरसाइकल र १ लाख रुपैयाँ प्राप्त गरे । नेपाल पुलिस क्लबमा पछिल्लो सिजन खेलेका उनले हाल मनाङबाट खेलिरहेका छन् । अभिषेक राष्ट्रिय यू-२३ टोलीका पनि सदस्य हुन् ।