एजेन्सी – रियल म्याड्रिडमा अपेक्षित अवसर नपाएका गोलरक्षक केलर नाभास फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन् ।

रियलमा राम्रो प्रदर्शन गरेपनि अवसरको कमीका कारण नाभासले क्लब छाड्ने निर्णय गरेका हुन् । यसअघि प्रशिक्षक जिदानले थिबाउट कोर्टुवा आफ्नो पहिलो रोजाईको गोलरक्षक रहने पक्का गरेपछि नाभासले दोस्रो रोजाईको रुपमा क्लबमा नबस्ने निर्णय लिएका थिए । यता फ्रान्सेली क्लब पीएसजीमा भेट्रान गोलरक्षक जियानलुइजी बुफोनले क्लब छाड्ने भएसँगै नाभासको लागि ढोका खुलेको हो ।
पीएसजीले गत सिजन बुफोनसँगै फ्रान्सेली गोलरक्षक अल्फोन्स एरिओलालाई पनि प्रयोग गरेको थियो । बुफोनले २५ खेल खेल्दा एरिओलाले ३१ खेल खेलेका थिए । नाभासले पीएसजीमा पहिलो रोजाइमा पार्नका लागि प्रतिस्पर्धा भने गर्नुपर्ने छ । नाभास आफैं पनि पीएसजीमा आफ्नो अनुभव र स्तरले अवसर पाउनेमा विश्वस्त रहेको बुझिएको छ ।