काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले ललित मेमोरियल यू–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीले फ्रेन्ड्स क्लबलाई २–० ले हराउँदा विशाल बस्नेत र जय अधिकारीले गोल गरे । जितसँगै समूह ‘बी’ बाट आर्मीले ३ अंक जोडेको छ । अर्काे खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको छ । पुलिसलाई जिताउन सन्जु सेनले दुई गोल गरे । जावलाखेलका लागि कप्तान साचु गुरुङले एक गोल फर्काए ।
खेलको १६औं मिनेटमा सन्जुले गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा साचुले गोल गर्दै जावलाखेललाई खेलमा फर्काए । बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा सन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए महत्वपुर्ण ३ अंक दिलाए । जितसंगै समूह ‘सी’ मा पुलिसले ३ अंक जोडेको छ ।

एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह विजेता तथा उपविजेतासहित अन्य दुई उत्कृष्ट टिमले नकआउट चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।