काठमाडौं (२ आषाढ) – ललित स्मृति यु१८ फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जगदम्बा लुम्बिनि फुटबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ६-०ले पराजित गर्यो।
पहिलो खेलमा जावलाखेलाई २-१ले पराजित गरेको आर्मीले दोश्रो हाफमा पाँच गोल खाएको थियो। दामोदर थापा क्षेत्रीले लुम्बिनिका लागि १५मिनेटमा खाता खोलेका थिए। कप्तान जनोम मान लिगलले ५६औं मिनेटमा कर्नरमा हेडिङ्ग गर्दै २ गोलको अग्रता दिलाएका थिए।
तेजेन्द्र पुनले ६३औं र ६६औं मिनेटमा गोल गर्दै लुम्बिनिलाई ४-०ले अघि बढाए। मन्दिप थापाले ७५औं र सोभित बुढाथोकिले ८४औं मिनेटमा गोल गर्दै लुम्बिनिको ६-०को जित सुनिश्चित पारेका थिए।
दिनको दोश्रो खेलमा मनाङ मर्स्याङ्दि र झापा एघार फुटबल क्लबले ३-३को बराबरी खेले। २२ मिनेटमा ३-०को अग्रता लिएको झापाले दोश्रो हाफमा प्रदर्शन गर्न नसकेपछि अंक बाढ्नु परेको थियो। झापाका लागि सोनाम लिम्बुले ८औं मिनेटमा खाता खोलेका थिए भने विकेश लिम्बुले १६औं र २२औं मिनेटमा गोल थपेका थिए।
मनाङका लागि सुबास गुरुङले २४औं मिनेचमा पेनाल्टिबाट गोल गरेका थिए। दोश्रो हाफमा सुधारिएको प्रदर्शन गरेको मनाङका लागि पासाङ शेर्पाले ५३ र वैकल्पिक खेलाडी अनिल चौधरीले ७९औं मिनेटमा गरेका थिए।