एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ अन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोना र जर्मन क्लब बोरुसिया डर्टमुन्ड आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार बिहीबार विहान १:४५ बजे सुरु हुनेछ ।
पछिल्लो खेलमा बार्सिलोना स्लाभिया प्रागसँग बराबरीमा रोकिएपछि यस समूहबाट अर्को चरण जाने टोलीको प्रतिस्पर्धा खुला भएको छ । बार्सिलोनाको ४ खेलमा २ जित र २ बराबरीसँगै ८ अंक छ । दोस्रो स्थानको बोरुसियाले ७ अंक जोड्दा इन्टर मिलान ४ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । बोरुसियाले पछिल्लो खेलमा इन्टरलाई पुनरागमन गर्दै पराजित गरेपछि रोमान्च थपिएको हो ।
घरेलु मैदानबाहिर बार्सिलोनाले यस सिजन खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । यस खेलमा घरेलु मैदानको साथ् हुने कारणले पनि टोलीको मनोबल उच्च छ । यस खेलमा जित दर्ता गरे बार्सिलोना नकआउट चरणमा प्रवेश गर्नेछ ।
यता पराजय भोगेको खण्डमा भने अन्तिम खेलले नै भविष्य निर्धारण गर्नेछ । निकै खराब समयबाट गुज्रिरहेको बोरुसियाको डिफेन्सलाई थप समस्या दिने बार्सिलोनाको लक्ष्य हुनेछ ।
बोरुसियाले पछिल्लो समय निकै उतारचढाव बेहोरेको छ । इन्टर मिलानलाई पराजित गर्दै लयमा फर्किएको संकेत दिएको जर्मन टोली घरेलु लिगमा बायर्नसँग ३-० को हार बेहोर्दै फेरी समस्यामा रहयो
पछिल्लो लिग खेलमा पाडेबर्नविरुद्ध बोरुसिया पहिलो हाफमा ३-० ले पछि परेको थियो । दोस्रो हाफमा पुनरागमन गर्दै बराबरी गर्न भने टोली सफल रहयो । आक्रमणमा मजबुत रहेको बोरुसियाले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाउन जित दर्ता गर्नुपर्ने हुन्छ ।