default_image

4 years ago

December 16, 2019

शतकको संघारमा ‘जर्सी नम्बर ९’

139 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

खेल्ने शैली र खेलमा छाड्ने प्रभाव हेर्ने हो भने सन्तोष साहुखल नेपालले पछिल्लो दशकमा पाएको उत्कृष्ट ‘नम्बर ९’ हुन् भन्नेमा सायदै दुइमत होला । नम्बर ९ अर्थात गोलकर्ता, यस्ता खेलाडी जसको काम आफ्नो टोलीका लागि मात्र र मात्र गोल गर्ने हो । विशेषगरी पेनाल्टी क्षेत्रभित्र पुगेपछि ‘नम्बर ९’ को भूमिका विशेष हुने गर्दछ । त्यहाँभित्र पुगेपछि यी खेलाडीले बिरलै पोस्टभन्दा बाहिर प्रहार गर्छन् ।

फरवार्ड सन्तोषलाई सन् १९९८ को विश्वकपमा ब्राजिलका फरवार्ड रोनाल्डोको खेलले निकै प्रभाव पार्यो । उनी जन्मे-हुर्केको भक्तपुरको मध्यपुर थिमीमा फुटबल नजान्ने कमै भेटिन्छन्, अझ विश्वकपको बेलामा त उक्त क्षेत्र उत्सवमय नै हुन्छ । त्यसबेला ब्राजिलले फाइनल यात्रा तय गर्दा रोनाल्डोको खेल्ने शैलीले सर्वत्र चर्चा बटुल्यो । तर अफसोच फाइनलमा ब्राजिल पराजित भयो र रोनाल्डो फाइनल खेलमा अनुपस्थित रहे । उनको अनुपस्थितिको कारण अझै यकिन रुपमा खुल्न सकेको छैन ।

सन् २००२ को विश्वकपमा सन्तोषले रोनाल्डोको सबै खेल हेर्न पाए । उनलाई फाइनलमा रोनाल्डोले गरेको गोल अझै याद छ । सानैदेखि रोनाल्डोको खेलले प्रभावित उनी आफ्नो खेल्ने शैलीलाई पनि त्यसै अनुसार अगाडि बढाउन थाले । उनको जर्सी नम्बरको रोजाई त ‘नम्बर ९’ हुने नै भयो । ‘सानैदेखि रोनाल्डोको खेल मनपर्ने । १९९८ र २००२ को विश्वकपमा मजाले हेर्न पाएँ । उनको कारण नै जर्सी नम्बर ९ मनपर्ने । फरवार्ड खेल्ने भएपछि त्यहि नै मेरो रोजाई बन्यो,’ सन्तोषले थपे ।

आफ्नो करीअरदौरान सन्तोषले विशेष अवस्थाबाहेक सधैं नम्बर ९ नै लगाए । थ्री स्टारबाट खेल्दा होस् या नेपालको आधुनिक फुटबलमा उनले थ्री स्टार छाडेर मनाङ जाँदा नै, जर्सी नम्बर ९ उनले छाडेनन् । उनले लगातार उक्त जर्सीको मर्म बुझ्दै न्याय पनि गरिरहे, अर्थात आफूले जुनसुकै टोलीका लागि खेले पनि गोल गर्न भने छाडेनन् ।

पछिल्लो समय सन्तोष नेपालमा छैनन् । उनी लिग फुटबल खेल्न मात्र आफ्नो व्यस्त समय मिलाएर नेपाल आउने गर्छन् । यसवर्ष भने उनको यो दोस्रो भ्रमण हो । यसअघि उनी आफू आबद्ध रहेको ‘हिरो टु हिरो’ प्रोजेक्टको कामले नेपाल आएका थिए । गत सिजनझैं उनले यसपटक पनि च्यासलबाट खेल्दैछन् । उनले आफूसँगै तीन जापानी खेलाडीलाई पनि क्लबमा ल्याएका छन् । उनको सहोदर दाजु बालगोपाल साहुखल टोलीको प्रशिक्षक छन् ।

सन्तोषले यस सिजन लिगको पहिलो खेलमा सोमबार संकटा विरुद्ध सुखद सुरुवात गरे । गत सिजन लिग उपविजेता बनेको संकटाविरुद्ध उनले २ गोल गरे । दुवै गोल ‘नम्बर ९’ ले गर्ने किसिमको नै थियो । खेलको ४१ औं मिनेटमा उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गोलरक्षक विनय श्रेष्ठलाई बिट गर्दै पहिलो बारमा राम्रो फिनिस गरे । दोस्रो गोल झनै उत्कृष्ट थियो । अमिर श्रेष्ठको थ्रु बललाई उनले अफसाइड ट्रयाप बिट गर्दै पहिलो टचमा नै गोलरक्षक विनयलाई बिट गर्दै दोस्रो बारमा गोल गरे ।

सन्तोषले यससँगै ए डिभिजन लिगमा आफ्नो गोलसंख्या ९८ पुर्याएका छन् । अबको लक्ष्य उनको लागि गोलको शतक पुर्याउनु हुनेछ । अघिल्लो सिजन नै लिगमा शतक पूरा गर्ने सुरमा आएका सन्तोषले आफ्नो तालिका नमिल्दा सिमित खेल खेल्दै जापान फर्कनुपरेको थियो । यसपटक उनी जारि तालिकाअनुसार पूरै लिग खेल्ने बताउँछन् ।

उमेर बढ्दै जाँदा उनको खेलमा भने थप निखार आएको छ । शारीरिक रुपमा पनि उनी पहिलाभन्दा फिट देखिन्छन् । सोमबार भएको खेलमा राष्ट्रिय टोलीमा रहिसकेका डिफेन्डर रवी सिलवालविरुद्ध उनी पूर्णत हावी देखिए । गोलरक्षक विनयले केहि उत्कृष्ट बचाउ गर्दै सन्तोषको गोलसंख्या बढाउन बाधक बने । दाजु तथा प्रशिक्षक बालगोपालले सन्तोष खेल सुध्रिरहेको बताउँदा सन्तोष भने नेपाली लिगको स्तर खस्कँदै गएको बताइरहेका थिए ।

‘नेपालको लिग पहिला भन्दा खस्केको जस्तो लग्यो । म त अहिले यसरि गोल गरिरहेको छु,’ सन्तोषले हाँस्दै भने, ‘ मैले आफूलाई निकै फिट राखेको छु । खेलमा गम्भीर भएर लागेको छु । फिटनेसमा पनि उत्तिकै ध्यान दिन्छु । पहिला यहाँ हुँदा म यस्तो थिइनँ । अहिले पनि नेपाली खेलाडी आफ्नो खानपिन र फिटनेसमा ध्यान दिँदैनन् । यसले पनि फुटबलमा निकै असर पार्छ ।’

सन्तोषले राष्ट्रिय टोलीको पुनरागमनबारे अहिले नै सोचेका नहुन सक्छन् । तर स्तर र खेल्ने शैली हेर्ने हो भने सायदै अन्य खेलाडीले उनको पदपूर्ति गर्ने अवस्था छ । पछिल्लो पटक सन् २०१५ मा नेपालका लागि खेलेका उनले त्यसयता राष्ट्रिय टोलीको जर्सी पहिरिएका छैनन् । संयोगवश नेपालले पछिल्लो पटक दशरथ रंगशालामा खेलेको औपचारिक खेल पनि त्यहि नै हो । नेपालले उक्त खेलमा विमल घर्तीमगर र सन्तोष साहुखललाई अग्रपंक्तिको जिम्मेवारी सुम्पिएको थियो । सन्तोषले केहि आकर्षक अवसर पनि पाएका थिए, तर खेल गोलरहित बराबरीमा टुंगियो ।

नेपालले त्यसयता उक्त मैदानमा आधिकारिक अन्तर्राष्ट्रिय खेल खेलेको छैन । अब तीन महिनापछि हुने विश्वकप छनोट अथवा त्यसअघि सम्भावित मैत्रीपूर्ण खेलमा सन्तोष टोलीमा पर्नलायक त छन् । तर टोलीको माग र सन्तोषको इच्छाले पनि त्यसमा भर पर्छ । सन्तोष जापानमा आफैं तल्लो श्रेणीको लिग त खेल्छन् नै सँगसँगै उनले खेल जीवनपछिका लागि पनि बाटो बुनिसकेका छन् । आफू आबद्ध एनपीओमार्फत उनले नेपालमा नै स्थानीय स्तरमा उनले फुटबल विकासका परियोजना ल्याउँदै आएका छन् ।

सन्तोषले आफ्नो भविष्यबारे त सोचिसकेका छन् । तत्काल भने उनी दुई लक्ष्यमा केन्द्रित छन्, आफ्नो गोलको शतक र च्यासललाई लिगमा च्याम्पियन बनाउने । त्यसमध्य पहिलो लक्ष्यका लागि उनले अर्को खेलमा नजर राखिसकेका छन् । च्यासलले अर्को साता नै मछिन्द्रको सामना गर्दैछ । यसपटक लिगको दावेदार समेत रहेको मछिन्द्रविरुद्धको खेल जति सन्तोषलाई महत्त्वपूर्ण छ, च्यासललाई पनि । उनी दुवै लक्ष्य एकैसाथ अगाडी लाग्न तत्पर छन् ।

ए डिभिजन लिग फुटबलमा सर्वाधिक सफल फरवार्डका रुपमा सिद्ध गरिसकेका सन्तोषलाई अब शतक पूरा गर्न २ गोलआवश्यक छ । विगतभन्दा शारीरिक रुपमा बलियो र छरितो देखिएका सन्तोषलाई अर्को खेलमा आफ्ना जापानी सहकर्मीको पनि साथ मिल्ने देखिन्छ । यस्तो अवस्थामा ‘जर्सी नम्बर ९’ को शतक खासै टाढा देखिन्न । च्यासलको उपाधि लक्ष्यका लागि भने सन्तोषले गोल गर्ने शृंखला शतक पार गरेपछि पनि जारि नै राख्नुपर्छ ।

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख फाइनल प्रवेशका लागि भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख आज भिड्दै छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुने दोस्रो लेग आज राती १२:४५ बजे सुरु हुनेछ । बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन […]

May 8, 2024

पिएसजीलाई हराउँदै बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिग फाइनलमा

एजेन्सी – फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै जर्मन क्लब बोरुसिया डर्टमुण्ड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । पिएसजी माथि दोस्रो लेगमा १-० सहित समग्रमा २-० को जित हासिल गर्दै डर्टमुण्ड ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको दोस्रो लेगमा डर्टमुण्डका लागि […]

Success

Thank you for your time.