default_image

6 years ago

January 7, 2020

रंगशालामा तनाव : दुरुस्त समस्या, सुस्त रणनीति

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिग अन्तर्गत सोमबार मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबबीचको खेल सकिने बितिक्कै दुई क्लबका खेलाडीबीच घम्साघम्सी पर्यो । दुवै पक्षका केहि खेलाडी आक्रमणमा उत्रँदा मैदानको माहोल नै रणभूमि भन्दा कमको थिएन ।

सिमित खेलाडीले एक आपसमा आक्रमणमा उत्रिएको अवस्थामा अधिकांश खेलाडी भने एक अर्कालाई साम्य पार्दै गरेको देखिन्थे । तर जब बेन्चबाट अफिसियल मैदानभित्र पसे, स्थिति थप तनावग्रस्त बन्यो । क्लबको ट्रयाकमा देखिएका केहि अफिसियल त बेन्चबाट छिरे र सिधै खेलाडीसँग भनाभन गर्न थाले । केहीबेरमा नै मैदानमा बिना कुनै कार्ड लगाएका क्लबका केहि समर्थक पनि देखा परे । विपक्षी टोलीका खेलाडीलाई अपशब्द बोल्दै स्थिति झनै तनावपूर्ण बनाउन थाले ।

खेलका लागि तैनाथ सुरक्षा गार्डले मात्र नसकेपछि मैदानबाहिर ड्युटीमा रहेका प्रहरीले नै स्थिति साम्य बनाउन मैदान पस्नुपर्यो । अन्तर्राष्ट्रिय नियमअनुसार प्रहरी मैदानमा पस्न पाइदैन । तर स्थिति निकै खराब भएपछि प्रहरीसँग त्यसको विकल्प थिएन । हरेक टोलीबाट एक खेलका लागि ११ सुरुवाती रोजाईका खेलाडी, ९ वैकल्पिक खेलाडी र ७ अफिसियल मैदानमा प्रवेश गर्न पाउने हुन्छ । त्यसबाहेक जोकोही पनि दर्शकदिर्घामा नै बस्नुपर्ने हुन्छ ।

सोमबारको घटना हेर्ने हो भने त्यहाँ कार्ड नै नबोकेका क्लबका पदाधिकारी र समर्थक समेत तनावपूर्ण स्थितिका हिस्सा बनेका थिए । एन्फाले मैदानभित्र एकदम संवेदनशील स्थानमा पनि कडाइ गर्न नसक्दा सोमबार सहजै साम्य हुने स्थिति तनावपूर्ण बनेको आँकलन गर्न सकिन्छ । भिडियो हेर्दा पनि पटक पटक अफिसियल तथा सामान्य पोसाकमा रहेका समर्थकले खेलाडीहरुसँग वादविवाद गरेको देखिन्छ । क्लबका अफिसियलले यसअघि पनि विपक्षी खेलाडीलाई अपशब्द बोल्दै आएकोमा कारवाही नगर्नुले मनोबल बढेको बुझ्न सकिन्छ ।

खेल सुरु हुनुभन्दा २ घण्टा अगाडिदेखि खेल सकिएर सबै खेलाडी ड्रेसिङ रुम नपुग्दासम्म रंगशालाको सुरक्षा व्यवस्था कडा हुनुपर्छ । मैदानमा प्रवेश गर्न २० खेलाडी र ७ अफिसियलबाहेक एन्फाकै लिग संचालन गर्ने व्यक्ति र फोटो पत्रकारलाई मात्र अनुमति हुन्छ । यसका लागि खेलाडीबाहेक सबैले औपचारिक एक्रिडेसन कार्ड अनिवार्य रुपमा देखिने गरि लगाउनुपर्ने हुन्छ । उक्त कार्डबिना कसैलाई पनि मैदान प्रवेश गर्ने अनुमति हुँदैन । तर सोमबार मैदान प्रवेश गर्ने अफिसियल कसैको पनि कार्ड देखिएको थिएन ।

सुरक्षा व्यवस्थालाई कडाइ नगर्ने हो भने यस्तो तनावपूर्ण स्थितिमा जोकोही पनि मैदान प्रवेश गर्न सक्ने अवस्था छ । यस्तो अवस्थामा भवितव्य दुर्घटना नहोला भन्न सकिन्न । एन्फाले दर्शकदिर्घामा बस्ने सामान्य दर्शकझैं अन्य भीआईपी पास बोकेर मैदान छिर्ने दर्शकलाई पनि सुरक्षा जाँच गर्न जरुरि छ । रंगशालाको सुरक्षा व्यवस्था थप कडाइ गरेसँगै एन्फाले मैदानको मुख्य भागमा के-कस्तो व्यक्ति प्रवेश गरेको छ पनि हेर्न जरुरि छ ।

रंगशालामा यस्तो घटना भएको पहिलोपटक होइन । झन्डै ७ वर्षअघि मध्यपुर युथ एसोसियसन ए डिभिजनबाट रेलिगेसनमा पर्दा रंगशालामा हुलदंगाकै अवस्था सिर्जना भएको थियो । दर्शकदिर्घाबाट कुर्सी तोड्नेदेखि अफिसियलहरुले मैदानमा नै धर्ना दिएका थिए । उक्त अवस्था सिर्जना गर्दा तत्कालिन मध्यपुरका अध्यक्ष र प्रशिक्षक रहेका उपेन्द्रमान सिंह सोमबारको खेलमा म्याच कमिस्नरको भूमिकामा थिए । त्यसबेला एन्फाले सिंहसहित ७ अफिसियललाई १ वर्ष प्रतिबन्ध गरेको थियो ।

एन्फा कम्प्लेक्समै तीन वर्षअघि श्री कुमारी क्लबका अफिसियल तथा खेलाडीले रेफ्रीलाई हातपात गरेका थिए । मोफसलका केहि प्रतियोगितामा पनि यस्ता घटना बारम्बार दोहोरिएका छन् । तर त्यस्ता घटनामा एन्फाले कडा रुपमा प्रस्तुत हुन नसक्दा दोषी खेलाडी तथा अफिसियल बच्ने गरेका छन् ।

दशरथ रंगशाला तयार भएसँगै विश्वकप छनोटका खेल पनि अब त्यहीं हुने निश्चित छ । विगतमा एपीएफ रंगशाला, हल्चोकमा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै नेपालले उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामै पनि एएफसीले जरिवाना लगाएको थियो । त्यसयता अन्तर्राष्ट्रिय प्रतियोगितामा एन्फाले सुरक्षा व्यवस्था कडाइ गरेको छ ।

लिग फुटबलमा सोमबारको घटना एन्फालाई एउटा पाठ भएको छ । दोषीलाई कारवाही गर्ने पाटो त छँदै छ, एन्फाले अब आफ्नो कमजोरी सुधार्ने कुनै ढिलाई गर्न नहुने पनि यसले नजिर दिएको छ । पछिल्लो महिना मात्र अनुशासन समितिले खेलाडीले क्याम्प छोडेर क्लब गएको निहुँमा कडा कारवाही गरेको थियो । उक्त निर्णय गर्न समितिलाई १ महिना लागेको थियो । अब दुवै क्लबले यसै साता लिगमा अर्को खेल खेल्दैछन् । त्यसअघि नै कारवाहीको निर्णय आउनुपर्ने पक्षमा समिति र एन्फा पक्कै जानकार छन् ।

यो पनि : खेलपछि रणभूमि बन्यो रंगशाला

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.