काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपिएफ क्लबकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ र मिडफिल्डर अनिता बस्नेत यो वर्ष पनि भारतीय (आई) लिग खेल्ने भएका छन् ।
शुक्रबारबाट सुरु हुने लिग खेल्न दुवै जना आज भारत प्रस्थान गरेका छन् । तर, यसपटक भने सावित्रा र अनिताले अलग अलग क्लबबाट खेल्ने छन् । सावित्राले गोकुलम केरेला एफसी र अनिताले सेथु एफसीबाट खेल्ने छिन् ।
गत सिजन भने दुवैले सेथुबाट खेलेका थिए । सेथु गत वर्षको विजेता हो । फाइनलमा सावित्राले २ गोल गरेपछि मणिपुर पुलिस स्पोर्टस्लाई ३–१ ले हराउँदै सेथु च्याम्पियन बनेको थियो । सावित्राले लिग भर १५ गोल गरेकी थिइन् ।
‘अरु क्लबबाट पनि प्रस्ताव आएको थियो । तर यसपटक यसबाट खेल्ने निर्णय गरे,’ सावित्राले भनिन्, ‘गत सिजन पनि यो क्लबले प्रस्ताव गरेको थियो ।’ आइ लिगमा एउटा टोलीले १ विदेशी खेलाडी मात्र राख्न पाउने प्रावधान छ । दुवैले कतिमा अनुबन्धन रकम भने खुलाउन चाहेनन् ।
अनिताले भने फेरि पनि च्याम्पियन टोलीबाट खेल्ने अवसरकाले यसपटक पनि टोलीलाई विजेता बनाउन आफ्नोतर्फबाट पूरा प्रयास गर्ने बताइन् । सावित्रा र अनिताले दुई वर्षअघि माल्दिभ्समा फुटसल लिग पनि खेलेका थिए ।
सावित्राले टोलीले भने छनोट चरण पार गरेमा मात्र आई लिग खेल्नेछ । गोकुलम र एफसी अलकापुराबीच दुई लेगको प्रतिस्पर्धापछि विजेता टोली आई लिगका लागि छनोट हुनेछ । आइतबार भएको पहिलो खेलमा गोकुलम १–० ले विजयी भएको थियो । दोस्रो लेग बुधबार छ ।
बंगलुरुस्थित बैंगलोर फुटबल रंगशालामा फागुन २ गते सम्म चल्ने आइ लिगमा गत वर्ष जस्तै १२ टोलीको सहभातिगा रहनेछ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरि राउन्ड रोविन लिग र त्यसमा शीर्ष २ मा पर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।
आई लिगको यो चौथो संस्करणको समूह एमा बारोडा फुटबल एकेडेमी, बिबिके एफसी, एफसी कोहलपुर सिटी, किक स्ट्राट एफसी र साविक विजेता सेथु छन् । बैंगलोर युनाइटेड एफसी, विदेश ११ एफसी, ओडिसा पुलिस एफसी, केन्क्रे एफसी, श्री भूमि एफसी तथा गोकुलम र अलकापुरामध्ये एक रहनेछ ।