काठमाडौं (हाम्रो खेलकुद)-राष्ट्रिय टोलीकी सावित्रा भण्डारी साम्बा एक्लैले ५ गोल गरेपछि भारतीय महिला लिगमा गोकुलम केरला एफसीमाथि शनिवार सानदार जित निकालेको छ।
बैंगलोर रंगशालामा गोकुलमले ओडिसा पुलिसलाई ७–० ले हराएको हो। सावित्रा शनिबारको खेलमा पनि प्लेयर अफ दि म्याच चुनिइन्। जारी लिगमा सावित्राले २ ह्याट्रिकसहित ११ गोल गरिसकेकी छन्।
खेलको चोथौ मिनेटमा नै सावित्राले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफ १–० ले अग्रता बनाएको गोकुलमका लागि सावित्राले बाँकी ४ गोल दोस्रो हाफमा गरिन्। सावित्राले खेलको ४, ५१, ५२, ७४ र ८३ औं मिनेटमा गोल गरिन्।
शनिबारको खेलमा पनि सावित्रा पहिलो रोजाइमा मैदान उत्रेकी थिइन्। खेलको ८७ औं मिनेटमा मैदान छाडेकी सावित्राको स्थानमा मैदान आएकी आग्वो एक्पारियन्सले ९० औं मिनेटमा गोल गर्दै अग्रता फराकिलो पारिन्।
लिगको एक खेलमा एक जना मात्र विदेशी खेलाडी मैदान उतार्न पाउने नियम छ। दोस्रो हाफको इन्जुरी समयमा ग्रेस लालरनम्परीले गोल गर्दै ७–० को फरकिलो अन्तर पारिन्।
गोकुलमको यो लगातार तेस्रो जित हो । सावित्राले सबै ३ खेलमा गोल गरेकी थिइन् । पहिलो खेलमा सावित्राको निर्णायक गोलमा गोकुलमले श्री भुमीलाई १–० ले हराएको थियो। दोेस्रो खेलमा केन्क्रे एफसीलाई १०–१ ले हराउँदा सावित्रा ५ गोल गरेकी थिइन्। छनोट खेलमा पनि सावित्राले २ गोल गरेकी थिइन् ।