default_image

6 years ago

February 19, 2020

‘नयाँ खेलाडीको प्रदर्शन हेर्न उत्साहित छु’ – कालिन

398 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीले चैत्र दोस्रो साता घरेलु मैदान दशरथ रंगशालामा फिफा विश्वकप २०२२ को छनोटअन्तर्गत समूह चरणका दुई खेल खेल्दैछ । उक्त खेलका लागि राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालिनले भर्खरै सम्पन्न ए डिभिजन लिगको प्रदर्शनलाई आधार मान्दै प्रारम्भिक टोली पनि घोषणा गरिसकेका छन् ।

नेपाली टोलीले लिग समापन भएलगत्तै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने तयारी रहेको थियो । तर क्लब र एन्फाको बैठकपछि प्रशिक्षण दुई साता पर धकेलिएको छ । ए डिभिजनका क्लबहरुले मोफसलका केहि प्रतियोगितामा राष्ट्रिय टोलीमा परेका खेलाडी प्रयोग गर्न पाउँ भन्ने आग्रह गरेपछि एन्फाले सो निर्णय गरेको हो । प्रशिक्षक कालिनले पनि क्लबहरुको आग्रह स्वीकार्दै प्रशिक्षण केहि सरेको स्वीकारे ।

‘ हामीले एन्फा र क्लबको बैठकपछि मार्च १ देखि प्रशिक्षण सुरु हुने खबर पायौं । एक हिसाबले क्लब र संघबीच समझदारी हुनु राम्रो विषय हो । हामीले सकेसम्म चाँडो प्रशिक्षण गर्न चाहेका थियौं तर तीन साता पनि पर्याप्त नै रहनेछ,’ उनले भने । नेपालले यसअघि भने लिग नभएको अवस्थामा लामो तयारी गरेको थियो । अष्ट्रेलियाको खेलका लागि टोली १ साताअघि नै सिड्नी पुगेर प्रशिक्षण गरेको थियो ।

दक्षिण एसियाली खेलकुद (साग) मा दशरथ रंगशालाको पुनर्निर्माण सकिएपछि रंगशाला प्रयोगमा आएको छ । लिगका अधिकांश खेल पनि रंगशालामा नै सम्भव भए । अन्तिम तीन चरणका खेल भने मैदानको स्थिति सुधार्न एन्फा कम्प्लेक्समा खेलाइयो । विश्वकप छनोटलाई लक्षित गर्दै एन्फाले खेल्ने मैदानको घाँस तयार पार्न लागेको छ । यसका लागि लिगका खेल त प्रभावित भए नै, राष्ट्रिय टोलीले समेत त्यहाँ प्रशिक्षण गर्ने नगर्ने टुंगो छैन ।

‘हामीले कहाँ प्रशिक्षण गर्ने भन्ने टुंगो लागेको छैन । सामान्यतया घरेलु टोलीले खेल मैदानमा नै प्रशिक्षण गर्दा धेरै फाइदा हुने थियो । तर यहाँको अवस्थाले त्यस्तो बताउँदैन । हामीले रणनीतिक प्रशिक्षण एन्फाको मैदानमा गरेर केहि समय रंगशाला नै प्रयोग गर्ने सम्भावना छ,’ मुख्य प्रशिक्षक कालिनले बताए । नेपालले सन् २०१५ मा महाभूकम्प गएयता राष्ट्रिय टोलीको औपचारिक खेल रंगशालामा खेलेको छैन । सागमा भने यू-२३ सम्मिलित प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको थियो ।

प्रशिक्षक कालिनले लिगको प्रदर्शनलाई मध्यनजर गर्दै यसपटक केहि नयाँ अनुहारलाई पनि टोलीमा समेटेका छन् । केहि खेलाडीले यसअघि जापानी प्रशिक्षक ग्योतोकु कोजी प्रशिक्षक रहँदा क्याम्पमा स्थान बनाएपनि अन्तिम टोलीमा पर्न सकेका थिएनन् । कालिनको प्रशिक्षणमा उनीहरुले पहिलो पटक राष्ट्रिय टोलीमा प्रशिक्षण गर्नेछन् । कालिन आफू भने अहिले नै यी खेलाडीको भविष्यबारे निर्क्यौल गर्न नसकिने बताउँछन् ।

 

‘ मैले सबैको खेल त लिगमा हेरेको छु । तर प्रशिक्षणमा यी खेलाडीले कस्तो प्रदर्शन गर्छन हेर्न बाँकी छ । घरेलु फुटबल र अन्तर्राष्ट्रिय फुटबलमा निकै अन्तर छ । मैले आफूले चाहेको जस्तो प्रदर्शन पाउने हो वा होइन प्रशिक्षण हेरेपछि थाहा हुन्छ । केहि खेलाडीले लिगमा राम्रो प्रदर्शन गरेका छन् र म उनीहरुसँग काम गर्न निकै उत्सुक छु,’ कालिनले थपे ।

जापानी प्रशिक्षक कोजी जिम्मेवारीमा रहँदा डेब्यु गरेका फरवार्ड जर्जप्रिन्स कार्की पनि यसपटक टोलीमा समेटिएका छन् । उनले ताजिकिस्तानविरुद्ध एसियाली कप छनोटको घरेलु मैदानमा भएको खेलमा डेब्यु गरेका थिए । पछिल्लो एक वर्ष आर्मी प्रशिक्षणमा व्यस्त रहेपछि फुटबलबाट विश्राम लिएका उनले ए डिभिजन लिगबाट पुनरागमन गरेका थिए । आर्मीको अग्रपंक्तिमा प्रिन्सको प्रदर्शनले कालिन पनि प्रभावित भएका छन् ।

‘म पहिला त उनलाई प्रशिक्षणमा हेर्न चाहन्छु । उनलाई मैदानमा हेर्दा मैले केहि विशेष क्षमता भएको देखेको छु । उनलाई हामीले फरवार्ड र विंगर दुवै भूमिकामा प्रयोग गर्न सक्छौं । उनलाई पनि अन्य खेलाडीसँग राखेर प्रशिक्षण गर्दा के नतिजा आउँछ, त्यो हेर्न बाँकी छ,’ प्रशिक्षक कालिनले थपे । प्रिन्सले आर्मीका लागि जारि सिजनमा भरत खवास र नवयुग श्रेष्ठसँग आक्रमणमा खेलेका थिए । तीनै खेलाडी यसपटक राष्ट्रिय टोलीको क्याम्पमा परेका छन् ।

प्रशिक्षक कालिनले कुवेतविरुद्ध खेलअघि अनुशासनको कारवाहीमा परेका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई टोलीमा समेटेनन् । त्यसै घटनामा कारवाही भोगेका अन्जन विष्ट भने टोलीमा छन् । कालिनले विमललगायत खेलाडी टोलीमा नपर्नुलाई अनुशासनसँग मात्र जोड्न नमिल्ने बताए ।

‘यदि हामीले आफ्नो खेल सुधार्ने हो भने अनुशासन पनि महत्त्वपूर्ण हुन्छ । तर विमल लगायत खेलाडी अनुशासन कै कारणले टोलीमा नपरेका भने होइनन् । हामीले उपलब्ध खेलाडीबाट उत्कृष्ट टोली निर्माण गर्न लागेका छौँ । अहिले प्रारम्भिक टोलीमा छनोट भएका खेलाडीबाट नै हामी राम्रो टोली बनाउन सक्छौं,’ प्रशिक्षक कालिनले प्रष्ट पारे ।

नेपालले अब घरेलु मैदानमा चाइनिज ताइपेइ र अष्ट्रेलियासँग ५ दिनको अन्तरमा खेल्नेछ । प्रशिक्षक कालिन स्तरीय टोलीविरुद्ध घरेलु मैदानमा खेल्न पाउनु राम्रो अवसर रहेको बताउँछन् । ‘ हामीले दुई स्तरीय टोलीसँग घरेलु मैदानमा खेल्दैछौं । ताइपेइ निकै बलियो टोली हो । हामीले पछिल्लो खेलमा जित हासिल गरेपनि उनीहरुसँग खेल्न सहज भने थिएन । अष्ट्रेलियाको स्तर हामी सबैलाई अवगत नै छ,’ उनले थपे, ‘हामीले यदि सकारात्मक नतिजा ल्याउने हो भने उत्कृष्ट प्रदर्शन गर्न जरुरि छ । र साथ साथै घरेलु मैदान भएपछि समर्थकहरुको साथले पनि निकै हौसला मिल्छ । हामीले समर्थकबाट पनि निकै अपेक्षा राखेका छौं ।’

विश्वकप छनोटअन्तर्गत ५ राष्ट्र सम्मिलित समुहमा नेपालले ५ खेल खेल्दा १ जितसहित ३ अंक जोडेको छ । अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेतजस्ता बलियो टोलीविरुद्ध नेपालले नतिजा हासिल गर्न नसकेपनि राम्रो प्रदर्शन गर्दै आएको छ । प्रशिक्षक कालिन प्रतियोगिता सुरु हुनुभन्दा अघि गरिएको अपेक्षाभन्दा टोलीले राम्रो खेलेको बताउँछन् ।

‘अहिले हामी पुछारबाट दोस्रो होइन, चौथो स्थानमा छौं भन्न चाहन्छु । छनोट सुरु हुनुअघि हामीले यो स्तरको प्रदर्शन गर्न सक्छौं भन्ने धेरैको शंका थियो । अहिले हाम्रो छनोटको चौथो स्थान हासिल गर्न सक्ने अवस्थामा छौं । फिफा वरीयता हेर्दा नै पनि त्यो प्रष्ट हुन्छ,’ उनले थपे, ‘ नेपालले एक वर्षको अन्तरमा यति बलिया प्रतिद्वन्द्वीसँग सायदै निरन्तर खेलेको थियो । हामीले यसबीचमा प्रदर्शन पनि सुधार गर्दै लागेका छौं ।’

‘ भुटानमा भएको कुवेतविरुद्धको खेललाई पनि उदाहरणको रुपमा लिन सक्छौं । हामीले खेल हारेपनि प्रदर्शन राम्रो रहेको थियो । हामीले आउने दिनमा अझै सुधार गर्नुपर्ने पक्ष छन् । बलियो प्रतिद्वन्द्वीसँग खेल्दा गल्ति थाहा हुन्छ र अझै राम्रो प्रदर्शन गर्न सकिन्छ । नतिजाको हिसाबमा हेर्दा वरीयतालाई असर पर्ला तर यसले दिर्घकालिन रुपमा हामीलाई सहयोग गर्छ,’ कालिनले भने ।

प्रशिक्षणमा डाकिएका ३१ खेलाडी

गोलरक्षक – विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने

रक्षक – रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्तान

मिडफिल्डर – विशाल राई ‘बी’, सेसेहाङ आङदेम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट

फरवार्ड – जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा र विमल राना

विदेशी लिगमा व्यस्त रहेका कारण रोहित चन्द, किरण चेम्जोङ र अभिषेक रिजाल भने टोलीले उपलब्ध गराएपछि राष्ट्रिय टोलीको प्रशिक्षणमा सामेल हुने बताइएको छ । रोहित इन्डोनेसिया, किरण भारत र अभिषेक माल्दिभ्समा व्यस्त छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.