धनगढी (हाम्रो खेलकुद)– फरवार्ड विक्रमसिंह ठकुरीले उत्कृष्ट प्रदर्शन गरेपछि आयोजक सुदूरपश्चिम ११ सर्वाधिक पुरस्कार राशीको नेपाल आइस चौथो सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।
धनगढी रंगशालामा मंगलबार भएको पहिलो क्वार्टरफाइनलमा भारतको कञ्चनजंघा एफसीलाई ४–२ ले पराजित गर्दै आयोजक टोली अन्तिम चारमा पुगेको हो । आयोजक टोलीलाई जित दिलाउन विक्रम सिंह ठकुरीले २, फिलिप तामाङ र दीपेश श्रेष्ठले समान १ गोल गरे ।
भारतीय क्लबका लागि अभिषेजक दर्जी र छिरिङ तामाङले गोल गरे । दुई विभागिय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच बिहीबार हुने खेलको विजेतासँग आयोजक टोलीले सेमिफाइनल खेल्नेछ ।
प्रतियोगितामा बुधबार रुस्लान थ्री स्टार क्लब र नव जनजागृति क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख १ हजार र दोस्रो हुने टोलीले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।