एजेन्सी – स्लोभेनियाका फरवार्ड जोसिप इलिसिसको ह्याट्रिकसहित चार गोल सहयोगमा इटालियन क्लब एटलान्टा पहिलोपटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्पेनिस प्रतिद्धन्द्धी भ्यालेन्सियालाई प्रि–क्वाटरफाइनलमा समग्रमा ८–४ ले पराजित गर्दै एटलान्टाले पहिलो पटक अन्तिम आठको यात्रा तय गरेको हो । मंगलबार राति भ्यालेन्सियाको मैदानमा बन्द रंगशालामा खेलिएको खेलमा एटलान्टाले ४–३ को संघर्षपुर्ण जित निकालेको थियो ।
पहिलो लेगमा एटलान्टाले घरेलु मैद्यामनमा ४–१ को सहज जित निकालेको थियो । गोलको वर्षा भएको खेलमा सबै चार गोल जोसिस इलिसिसको नाममा रहँदा भ्यालेन्सियाका केभिन गेमेरियोले दुई तथा फेरान टोरेसले गोल गरेपनि हार टार्न सकेन ।
गोलको वर्षा भएको खेलमा पाहुना टोलीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिन सफल भएको थियो । माउक्टर डिएकहवीले इलिसिलाई लडाएपछि प्राप्त पेनाल्टीमा इलिसिस आफैले गोल गर्न सफल भएका थिए । २१औं मिनेटमा केभिन गेमेरियोले बराबरी गोल फर्काए । ४३औं मिनेटमा इलिसिसले पेनाल्टीमा गोल गर्दै एटलान्टालाई खेलमा पुनः २–१ को अग्रता दिलाए ।
५१औं मिनेटमा गेमेरियोले पुनः गोल थप्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६७औं मिनेटमा फेरान टोरेसले गोल गर्दै घरेलु टोलीलाई पहिलोपटक खेलमा ३–२ को अग्रता दिलाए । त्यसपछि एटलान्टाको जोसिस इलिसिसले दुई गोल गर्दै जित पक्का गरे ।
७१औं मिनेटमा जोसिपले ह्याट्रिक पुरा गरे । ८२औं मिनेटमा इलिसिसले अर्काे गोल थप्दै एटलान्टाको जित पक्का गरे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गेमेरियो ह्याट्रिक नजिक पुगेर चुके ।