पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करण अन्तर्गत बुधबारदेखि सेमिफाइनल खेल हुँदैछ ।
सहारा क्लब पोखराको आयोजनामा भइरहेको आहा रारा गोल्डकपको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टार क्लबले विभागीय टिम नेपाल पुलिस क्लबको सामना गर्दैछ । खेल पोखरा रंगशालामा दिउँसो ३ बजेपछि हुनेछ । डिफेन्डिङ च्याम्पियन थ्री स्टार विभागीय प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै लगातार तीन संस्करणको फाइनल पुग्ने दाउमा हुनेछ ।
थ्री स्टारले गत संस्करणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाँचौपटक आहा रारा गोल्डकप च्याम्पियन बनेको थियो । त्यसअघि थ्री स्टार १६औं संस्करणमा पुलिससँग १–० ले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । पुलिसको त्यो छैटौं उपाधि थियो ।
युवा खेलाडीले भरिएको थ्री स्टारसँग राष्ट्रिय टोलीका सदस्य विक्रम लामा र अनन्त तामाङको साथ छ । १३औं सागमा नेपाली यु–२३ ले स्वर्ण जित्दाका मिक्छेन तामाङको पनि थ्री स्टारलाई साथ छ । त्यसबाहेक लिगमा उच्च प्रदर्शन गरेका सन्जोक राई, निशान खड्का, रुपेश केसी पनि थ्री स्टारमा छन् । यस्तै गान्तोक सिटीलाई पराजित गर्दा दुई गोल गरेका युवा फरवार्ड सुसन श्रेष्ठलाई अग्रपंक्तिमा सन्जोक राई, आशिष राई र सुशिल राईले साथ दिनेछन् । थ्री स्टारसँग यस प्रतियोगितामा विदेशी खेलाडी छैनन् ।
यता, पुलिस साविक विजेतालाई सेमिफाइनलबाटै घर फर्काउने दाउमा हुनेछ । अनुभवी खेलाडी भोला सिलवाल रातो कार्डका कारण थ्री स्टारविरुद्ध रहने छैनन् । युवा खेलाडीले भरिपूर्ण पुलिससँग बुद्धबल तामाङ, तेज तामाङ, रवि पासवान, अजित भण्डारी लगायतको साथ छ । पुलिस थ्री स्टारलाई लिगमा भोगेको हारको बदला लिने लक्ष्यमा पनि रहनेछ । पुलिस लिगमा थ्री स्टारसँग १–० ले पराजित भएको थियो ।
दुवै टोलीमा युवा खेलाडीको बाहुल्यता रहेका कारण खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । थ्री स्टारले गान्तोक सिटी एफसी सिक्किमलाई तथा पुलिसले आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगेको हो ।
यो खेलमा विजयी हुने टोलीले शनिबार उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मनाङ–मर्स्याङ्दी क्लबबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनल बिहीबार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।