6 years ago
April 7, 2020
कप्तान कथन
– हरि खड्का, पूर्वकप्तान – नेपाली राष्ट्रिय फुटबल टोली
उमेरले चार दशक नाघिसक्दा समेत यो मनले फुटबल बाहेक केही सोच्न सकेको छैन । केही अरु जानिएको पनि छैन । हामीलाई बाल्यकालमा फुटबल खेल्न सजिलो पनि थिएन । तर फुटबल खेल्ने पागलपन थियो । त्यो नशाले जीवनलाई कहिल्यै छाडेन ।

त्यो पागलपन, नशा, लगाव र मेहनतले राष्ट्रिय खेलाडी पनि बनेँ । सन् १९९५ मा राष्ट्रिय टोलीमा छानिए पनि । अनि लगातार झण्डै १० वर्ष खेलेँ । २००३ देखि दुई वर्ष राष्ट्रिय टोलीको कप्तान पनि भएँ । सबैका बुवा–आमा झैं मेरा पनि उस्तै, खेलेर बिग्रिन्छ भन्ने सोच पाल्ने ।
स्थानीय मुनाल च्यालेन्ज कपमा बेस्ट प्लेयर भएर चाँदीको कप जितेको थिएँ । अनि रेडियोले नाम पनि फुक्यो । त्यसपछि भने घरबाट पनि सहयोग मिल्न थाल्यो । अनि त भनेजसरी नै खेल्न पाइयो । काठमाडौं आएर पहिलो पटक एनआरटीबाट खेलें । मनाङबाट एउटा मात्रै प्रतियोगितामा खेलेँ । अनि सारा खेलाडी जीवन प्रहरीमै बित्यो ।
१९९५ मा पाकिस्तानसँगको डेब्यू खेल अहिले पनि याद आउँछ । त्यसपछि घाइते भएको अवस्थामाबाहेक कहिल्यै टोली बाहिर बस्नु परेन । गोल गरेको क्षणहरु भने कहिल्यै बिर्सन सकिंदैन । आठौं दक्षिण एसियाली खेलकुद (१९९९) मा माल्दिभ्सविरुद्ध गरेको गोल अहिलेसम्म स्मरणमा ताजै छ । सन् २००२ को विश्वकप छनोटको खेलमा इराकविरुद्ध गरेको गोल पनि सम्झनलायक नै थियो ।

जहिलेसम्म फुटबल खेलें कहिल्यै पनि पट्यार लागेन । खेलाडी भएर नै जागिर पाएँ । विदेशी क्लबहरुबाट पनि खेलें । फुटबलले गर्दा नै हरि खड्कालाई सबैले चिन्ने भए जस्तो लाग्छ । त्यसैले फुटबल खेल्न पाउँदा जतिखुशी मिल्छ अरु केहीले पनि त्यो सन्तुष्टि दिंदैन । फुटबलले मलाई बिगार्यो भन्ने सोचेँ मात्र भने पनि पाप लाग्छ ।
विदेशी क्लबहरुमा भारतको मोहन बगानबाट खेलें । महिन्द्रा एण्ड महिन्द्राको जर्सी पनि लगाएँ । बंगलादेशमा महमोदन स्पोर्टिङ, ब्रदर्स युनियन, चिटगाउँ अवानीबाट पनि खेलें । समग्रमा देश बाहिर खेल्दाका दिन पनि रमाइलो नै थिए । नेपाली खेलाडी विदेशी क्लबमा गएर खेल्न पाउनु खुसीको कुरा पनि हो नि । यसले विदेशमा समेत मलाई चिनायो ।
मैले समर्थकहरुबाट जति माया पाएँ, त्यो फुटबल कै योगदानले हो । खेलाडीले कमाउने सम्मान र माया नै उसको जीवनको कमाइ हो । फुटबल खेलेर आर्थिक रुपमा बलियो बन्छु भन्दापनि राष्ट्रिय झण्डा अन्तर्राष्ट्रिय रुपमा चिनाउन पाउनुले गौरवान्वित बनाउँछ । अहिले म त्यही कमाईलाई जोगाइराख्ने कोसिसमा छु ।

एनआरटीमा मैले खेल्दा नेपाल मै महंगो खेलाडी बनेको थिएँ, मासिक १५ सय लिने । त्यो कालदेखि अहिलेसम्मको यात्रालाई नियाल्दा फुटबलमा निकै परिवर्तन आइसकेको छ । मात्र खेलप्रतिको ‘प्यासन’ मा परिवर्तन आएको छ । हिजो पनि मनमा राष्ट्र थियो आज पनि छ । प्रहरीमा जागिर खाँदा पनि पहिलो तलब २७ सय रुपैयाँ थियो । अहिले नेपालमा लिग नभएर मात्र हो नि । नत्र नेपाली खेलाडीले मासिक ५० हजार देखि १ लाख रुपैयाँसम्म कमाउने भइसकेका छन् ।
आठौं साफमा बंगलादेशसँगको फाइनलमा हामी १–० ले पछाडि परेको बेला कर्नर किकबाट आएको बल मैले भलि सट हानेको थिएँ । त्यो बल पोस्टमा लाग्यो । मेरो त्यो असफल प्रयासले अहिले पनि चुकचुक बनाउँछ । त्यो बललाई मैले पछ्याएको भएपनि गोल हान्न सक्थें जस्तो लाग्छ । सेलिब्रेसन गर्न तिर लागेर त्यो बल मिस भएको थियो ।
हाम्रो समयमा मलाई मनमर्ने खोलाडी थियरी हेनरी हो । यसैले मैले छोराको नाम नै हेनरी राखेको छु । नेपालमा आजसम्मका खेलाडीमा मणि शाहभन्दा प्रतिभाशाली अर्को देखेको छैन । पुरानाको खेल हेर्न नपाएर पनि होला । मेरो आइडल अहिलेसम्म पनि मणि शाह नै हुन् ।

अहिले सामाखुशी फुटसल खोलेर कामगरिरहेका छु । फुटबलमै जोडिएको छु । फुटबल एउटा नशा हो । त्यसबाट टाढा जानभने सकिँदैन । जान मन पनि छैन । नेपाली फुटबलमा अहिले प्रगति हुँदै गइरहेको छ । नेपाली खेलाडीहरु राम्रा हुँदै गएका छन् । म कप्तान हुँदा कुनै पनि उपाधि जिताउन सकिनँ । त्यसैले त्यो अनुभव भने रहर मै बिलायो । आफ्नो कप्तानीमा केही उपाधि जिताउने रहर त सबै कप्तानलाई हुन्छ । तर, सफल भइन, दुख लाग्छ नै ।
एउटा स्ट्राइकर मात्र भएर खेल्दा र कप्तानको पनि जिम्मेवारी पाउँदा फरक भने हुन्छ । सबैको जिम्मेवारी लिएर खेल्नुपर्दा अरुको बारेमा पनि सोच्नुपर्ने हुन्छ । त्यो एउटा भारिलो कुरा जस्तो लाग्छ । अहिलेसम्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा धेरै गोल (१३ गोल) निराजन रायमाझी र मेरो नाममा नै छ । यसैले पछिल्लो समय आएका खेलाडीले त्यो कीर्तिमान तोड्न सकुन् भन्ने लाग्छ । उनीहरुले त्यति पुरानो कीर्तिमान तोड्न नसक्दा भने अहिले आएका स्ट्राइकरमै केही कमी छ कि जस्तो पनि लाग्छ ।

अब हामीले त्यो बेला साफ, विश्वकप छनोट खेलेर त्यति गोल गरेका हौँ । अहिलेका पनि स्ट्राइकर नराम्रो छन् भन्न खोजेको होइन, उनीहरु पनि राम्रा छन् तर उनीहरुले त्यति धेरै खेल खेल्दा पनि कीर्तिमान तोड्न सकेका छैनन् । दुख लाग्छ । पहिलाको फुटबल र अहिलेको फुटबलरमा परिवर्तन आएको छ । अहिले अलि बढी टेक्निकल बनेको छ फुटबल । माइन्ड विथ स्पिड भन्छन् नि, अहिलेको खेल त्यस्तै भएको छ ।
अब आउने खेलाडीलाई शिक्षालाई पनि खेलसँगै अगाडि बढाउन आग्रह गर्छु । धेरै खेलाडीले खेलमा ध्यान दिँदा भविष्य अन्ध्यकार बन्छ कि जस्तो लाग्छ ।अनि समयमा पढ्न नसकेको पछुतो हुन्छ । हिजोको दिनमा खेलेर सबै कुरा पाउँदा पाउँदै पनि मैले छुटाएको भनेको शिक्षा नै हो ।
साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]