5 years ago
July 18, 2020
लिड्स युनाइटेड अन्तत: प्रिमियर लिगमा फर्किएको छ । १६ वर्षको प्रतीक्षापछि यो सम्भव भएको हो । पछिल्लो सिजन च्याम्पियनसिपको तेस्रो स्थानमा रहेर माथि उक्लनबाट बन्चित भएको लिड्सलाई अर्जेन्टिनी प्रशिक्षक मार्सेलो बिएल्साले दोस्रो प्रयासमा उकालेरै छाडे । र यसपटक लिड्स दोस्रो श्रेणीको च्याम्पियनकै रुपमा माथिल्लो श्रेणीमा चढ्दैछ ।

शुक्रबारको खेलमा वेस्ट ब्रोमले हडर्सफिल्डसँग २-१ को हार बेहोरेपछि लिड्स प्रिमियर लिगमा बढुवा हुने पक्का भएको थियो । शनिबार तेस्रो स्थानको ब्रेन्टफर्डले स्टोक सिटीसँग १-० को हार बेहोरेपछि लिड्स दोस्रो श्रेणीको च्याम्पियन बन्ने पक्का भएको हो । लिड्सको यो दोस्रो श्रेणीमा चौथो लिग उपाधि हो ।
बिएल्साअघि १९२३-२४ मा आर्थर फेयरक्ल, १९६३-६४ मा डन रेभी र १९८९-९० मा होवार्ड विल्किन्सनले यो उपलब्धि हासिल गरेका थिए । जिम बेकर, बबी कोलिन्स र गोर्डन् स्ट्राचनपछि लियाम कुपर उपाधि जिताउने कप्तान बनेका छन । सन् २००४ पछि लिड्सले अर्को सिजन प्रिमियर लिग फुटबल खेल्नेछ ।
कोरोनाका कारण लिग स्थगित भएपनि लिड्सले आफ्नो लयलाई सिजनभर नै कायम राखेको थियो । पछिल्ला सिजनमा सुखद सुरुवात गरेपनि निरन्तरता दिन नसक्दा लिड्स अभागी सावित हुँदै आएको थियो । यस सिजन भने नोभेम्बरदेखि नै लिड्स लगातार शीर्ष २ स्थानमा रहेको थियो ।
गत सिजन नै लिड्स माथि चढ्ने अवसर थियो । तर विगान र ब्रेन्टफर्डसँग लगातार हार बेहोरेपछि तेस्रो स्थानमा सिमित भएको क्लबले प्लेअफको सेमीफाइनलमै डर्बीसँग ४-३ को नाटकीय हार बेहोर्यो । माथि उक्लन नसकेपछि क्लब र समर्थकले बिएल्सा क्लबमै बसिरहन्छन् भन्ने सोचेका पनि थिएनन् । तर बिएल्साले आफूले तयार परेको टोलीलाई प्रिमियर लिग पुर्याउने नै लक्ष्यसहित योर्कसाएर क्लबमै बस्ने निर्णय लिए ।

लिड्सका समर्थकका लागि पछिल्लो डेढ दशक निकै पीडादायी रहयो । प्रिमियर लिग पुनरागमनको यात्रा लामो त थियो नै, यसबीचमा क्लबले निकै कठिन समयको सामना गर्नुपर्यो । सन् २००१ मा च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको टोली त्यसको केहि वर्षमा दोस्रो श्रेणीमा रेलिगेसनमा पर्यो । रेलिगेसनमा परेपछि गहिरो आर्थिक संकटमा परेको क्लबले माथि उक्लने प्रयासलाई महत्त्व दियो ।
रेलिगेसन पर्नेबितिकै क्लबले त्यसबेला सहायक प्रशिक्षक रहेका केभिन ब्ल्याकवेललाई टोलीको जिम्मेवारी सुम्पियो । उनकै नेतृत्वमा क्लबले सन् २००५-०६ को प्लेअफ फाइनलसम्म पनि पुग्यो । तर वाटफर्डसँग हारेपछि क्लबको माथि उक्लने सपना तुहियो । सन् २००७ मा क्लब आर्थिक समस्याले ग्रस्त भएपछि कारवाहीस्वरुप घटुवामा पर्यो । प्रिमियर लिगको शीर्ष क्लब केहि वर्षको अन्तरमा नै एकाएक तेस्रो श्रेणीमा झर्यो ।
अझ तेस्रो श्रेणीमा क्लबले १५ अंक कारवाहीस्वरुप घटाएपछि थप समस्या भोग्नुपर्यो । तीन सिजनको परिश्रमपछि क्लब साइमन ग्रेसनको नेतृत्वमा दोस्रो श्रेणीमा उक्लियो । सन् २००४ मा घटुवा भएदेखि क्लबमा लगातार प्रशिक्षक परिवर्तन हुने क्रम जारि रहयो । सन् २०१८ मा क्लबले विश्व प्रसिद्ध प्रशिक्षक मार्सेलो बिएल्सालाई नियुक्त गर्दै आफ्नो प्रिमियर लिग फर्कने लक्ष्य स्पष्ट पार्यो ।
म्यानचेस्टर सिटीका पेप गुआर्डीओला र टोटेनहम हट्सपरका माउरिसियो पोचेटिनो समेतले प्रशंसा गरेका बिएल्सा उनको रणनीति र पृथक स्वभावका कारण परिचित छन् । उनले आफ्नो लामो प्रशिक्षण करीआरमा अर्जेन्टिना, चिली र एथ्लेटिक बिल्बाओको नेतृत्व गरेका छन् ।

बिएल्साले सन् २०१८-१९ सिजनको सुरुवात उत्कृष्ट ढंगले गरे । टोलीको उच्च दबाब सिर्जना गर्ने र छरितो पास खेल्ने रणनीति बुझ्न विपक्षी क्लबलाई निकै कठिन भयो । तर त्यसै सिजन जनवरीमा विपक्षी टोलीको प्रशिक्षण नियाल्न जासुस खटाएको स्वीकार गरेपछि उनी विवादमा परे । अघिल्लो सिजन अन्त्यतिर लय गुमाएपनि यसपटक गल्ति नगरी लिड्स शीर्ष श्रेणीमा फर्कियो । बिएल्साले लिड्सको नेतृत्व लिएपछि खेलेको ९८ खेलमध्य ५४ खेल जितेका छन् ।
लिड्सको उत्कृष्ट प्रदर्शनमा स्थानीय खेलाडी काल्भिन फिलिप्सको प्रदर्शन निकै महत्त्वपूर्ण रहयो । २४ वर्षीय उनले बढुवा पक्का भएपछि बीबीसी रेडियोसँग बोल्ने क्रममा आफ्नो भावना शब्दमा व्यक्त गर्न नसकिरहेको अभिव्यक्ति दिए ।
‘यो निकै खुसीको क्षण हो । जब बिएल्सा आए, हामीले दुई वर्षमा नै माथि पुग्छौं भन्ने सोचेका थिएनौं । प्रशिक्षक र उनको टोलीको मिहिनेतले नै यो सफलता हासिल गरेका हौं । उनी विश्वकै उत्कृष्ट प्रशिक्षक हुन्,’ फिलिप्सले भने,’ यो उमेरमा मैले उनीजस्तो प्रशिक्षक पाउनु भाग्य हो । प्रिमियर लिग विश्वकै उत्कृष्ट लिग हो र हामी १६ वर्षपछि त्यहाँ फर्किएको छौं ।’

कप्तान लियाम कुपरले लिड्स आफू जहाँ बस्न लायक छ, त्यहाँ फर्किएको बताएका छन् । ‘म विश्वास गर्न सकिरहेको छैन की यो सम्भव भएको छ । हाम्रो क्लब, हाम्रो समर्थक र हाम्रो खेलाडी सबैले यो स्थान हासिल गर्न निकै मिहिनेत गरेका छन् । हामीले १६ वर्षसम्म निकै पिडा भोग्नुपरेको थियो,’ कुपरले भने ।
‘ यो टोलीको सदस्य हुनु र टोलीलाई पुन: माथि पुर्याउंदा नेतृत्व गर्न पाएँ । हामी जहाँ बस्न लायक छौं, त्यहाँ फर्केका छौँ । हामीले सिजनभर एकरुपता देखाउँदै यो स्थानमा पुगेका हौं । हामी उपाधिसहित प्रिमियर लिगमा फर्केका छौं,’ कुपरले थपे ।
– बीबीसीको सहयोगमा
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]