स्वान्सी (एजेन्सी) – चेल्सी प्रिमियर लिगमा आइतबार हारबाट जोगिएको छ । स्पेनिस अन्तर्राष्ट्रिय डिएगो कोस्टाले २ गोल गरेपछि एन्टोनियो कोन्टेको टोली चेल्सीले स्वान्सी सिटीसँग २–२ को बराबरी खेल्दै अंक बाडेको छ ।
कोस्टाको गोलमा चेल्सीले पहिलो हाफमा अग्रता लिएको थियो । तर, दोस्रो हाफमा तीन मिनेट भित्र दुई गोल गर्दै स्वान्सीले अग्रता बनाएको थियो ।
चेल्सीका गोलकिपर थिवाउट कोर्टियोसले ग्लिफी सिर्गुडसनलाई पेनाल्टी बक्समा लडाएपछि स्वान्सीले पेनाल्टी पाएको थियो । ५९ औं मिनेटमा आइसल्यान्डका मिडफिल्डर सिर्गुडसनले पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए । त्यसको तीन मिनेट पछि नै लेरोय फ्रेले गोल गर्दै स्वान्सीलाई अप्रत्यासित अग्रता दिलाएका थिए ।
तर खेल सकिन ९ मिनेटअघि कोस्टाले गोल गर्दै टोलीलाई सिजनको पहिलो हारबाट जोगाए । सतप्रतिसत जितको नतिजाबाट विमखु चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटी (१२) भन्दा दुई अंकले पछि परेको छ । अघिल्लो दिन सिटीसँग हारेको म्याचेस्टर युनाइटेड ९ अंकसहित तेस्रो स्थानमा छ । स्वान्सी ४ अंकसहित १३ औं स्थानमा छ ।