एजेन्सी – फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा बोर्डेअक्ससँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

पार्क दि प्रिन्सेसमा शनिबार राति भएका खेलमा घरेलु टोली खेलको १०औं मिनेटमा टिमोथी पेम्वेलेको आत्मघाती गोलबाट पछि परेको थियो । कर्नरबाट आएको बललाई जोस माजाले प्रहार गर्नुअघि नै युवा सेन्टर ब्याक टिमोथी पेम्वेलेले बचाउन खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
त्यसपछि पीएसजीको लगातार दुई आक्रमणमा बोर्डेअक्सका गोलरक्षक बेनोइट कोस्टिल बाधक बने । उनले एलेसान्द्रो फ्लोरेन्जी र मिचेल बाकेरको प्रहारलाई विफल पारेका थिए । २७औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पेनाल्टी बक्समा हाटिम विन अर्फाले नेयमारलाई लडाएपछि पीएसजीले पेनाल्टी अपिल गरेपनि रेफ्रीले त्यसको कुनै सुनुवाई गरेको थिएन । तर दुई मिनेटपछि रेफ्रीले भिएआरको सहायता लिदै पीएसजीलाई पेनाल्टी प्रदान गर्दा नेयमार चुकेनन् । पहिलो गोल गरेका एक मिनेटपछि नै मोइस किनले गोल गर्दै पीएसजीलाई २–१ ले अघि बढाए ।
पेनाल्टी बक्सबाहिरको नेयमारको शक्तिशाली प्रहार गोलरक्षकलाई लाग्दै रिवाउन्ड आएको बललाई किनले जाली चुमाएका थिए । ३४आं मिनेटमा केलियन एमबाप्पेको प्रहारमा गोलरक्षक नै बाधक बने । ४३औं मिनेटमा रोफिन्हाको प्रहारमा गोलरक्षक कोस्टिल नै बाधक बने ।
६०औं मिनेटमा हाटिम विन अर्फाको पासमा यासिन एडलिले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६८औं मिनेटमा निकोलस डि प्रिभिल चुक्दा बोर्डेअक्सले अग्रता लिन सकेन । ७१औं मिनेटमा विन अर्फा र यासिनको समन्वयमा बनेको मुभमा पारेडेसले उत्कृष्ट ब्लक गरे ।
८६औं मिनेटमा पीएसजीका गोलरक्षक सर्जियो रिकोले विन अर्फाको प्रहारलाई सुन्दर बचाउ गरे ।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुगिंयो । यो बराबरीले पीएसजी १२ खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । बोर्डेअक्स १६ अंकसहित ११औं स्थानमा छ ।