एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन बर्नलीसँग बराबरीमा रोकिएको छ । एक गोलले पछि परेको अवस्थामा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए ।

टर्फ मुर बर्नलीमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको तेस्रो मिनेटमा नै रोबर्ट ब्राडीको गोलबाट अग्रता लिएको थियो । उनले एस्ले वेस्टवुडको पासमा गोल गरेका थिए ।
एक गोलले पछि परेपछि एभर्टनले सुधारिएको खेल पस्कदै पहिलो हाफमै बराबरी गोल फर्काउन सफल भयो । पहिलो हाफको थप गरिएको तेस्रो मिनेटमा लेविनले रिचार्लीसनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफमा पनि घरेलु टोलीविरुद्ध एभर्टनले बल पोजेसनमा पकड बनाएपनि फिनिसिङ गर्न नसक्दा खेल १–१ गोलको बराबरीमा टुगिंयो । ११ खेलमा एभर्टनको यो दोस्रो बराबरी हो । ५ जित र ४ हारसहित एभर्टन १७ अंक जोडेर आठौं स्थानमा रहेको छ । बर्नली ६ अंक जोडेर १९औं स्थानमा छ ।