एजेन्सी – इंग्लिस प्रिमियर लिगको निकै नै महत्त्वपुर्ण खेलमा आज राति लिभरपुल र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल लिभरपुलको मैदान एनफिल्डमा नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा लिभरपुल शीर्षस्थानको म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै अंक बराबरी गर्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । युनाइटेडलाई हराए लिभरपुल अघि रहनेछ ।
शीर्षस्थानको म्यानचेस्टरको १७ खेलबाट ३६ तथा समान खेलबाटै तेस्रो स्थानको लिभरपुलको ३३ अंक छ । यस्तो अवस्थामा लिभरपुल उपाधि यात्रालाई जीवितै राख्न युनाइटेडलाई हराउने लक्ष्यमा हुनेछ ।
लिभरपुलसँग अग्रपङ्तिमा साडियो माने, मोहम्मद सलाह र रोबर्टाे फिर्मिनोको जोडी छ । मिडफिल्डमा जर्जिन्हो वाइनाल्डम, थियागो अलकान्तरा, जोर्डन हेन्डरसन, जेर्दान शाकिरी, एलेक्स अक्सलेड चेम्वरलेन, जेम्स मिल्नर र ताकुमी मिनामिनोको साथ रहेको छ । डिफेन्समा एलेक्सान्डर अर्नाेल्ड, फाविन्हो, एन्ड्रिउ रोबर्टसन, रेस विलियम्स र गोलरक्षकमा एलिसन बेकर रहेको छ ।
यता, युनाइटेड पनि लिभरपुललाई पराजित गर्दै आफ्नो शीर्षता यथावत राख्ने लक्ष्यमा हुनेछ । बराबरीले पनि युनाइटेडले शीर्षस्थानमा २ अंकको अग्रता कायम राख्नेछ । टोलीसँग एन्थोनी मार्सियल, पल पोग्वा, ब्रुनो फर्नान्डेस, मार्कस रासफोर्ड, फ्रेड, स्कट म्याकटोमिने, लुक सा, ह्यारी मगाएर, इरिक बेइली, आरोन वान बिशाका र गोलरक्षक डेभिड डे हेया रहेको छ ।
यि दुई टोलीको पछिल्लो २७ खेलको नतिजामा युनाइटेड अघि छ । युनाइटेडले १२ खेल आफ्नो पक्षमा पार्दा ८ खेल लिभरपुलको नाममा रहेको छ । ७ खेल बराबरीमा सकिएको छ । पछिल्लो पाँच खेलमा लिभरपुल युनाइटेडसँग अपराजित छ । जसमा ३ जित र २ बराबरीको नतिजा छ । गत सिजनको दुई खेलमा लिभरपुल एक खेलमा विजयी हुदा एक खेल बराबरीमा सकिएको छ ।