एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज राति इन्टर मिलान र युभेन्टसबीच प्रतिस्पर्धा हुँदैछ। खेल इन्टर मिलानको मैदान मिलानोमा नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा इन्टर युभेन्टसलाई पराजित गर्दै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । इन्टरको १७ खेलबाट ३७ अंक रहेको छ । शीर्षस्थानको एसी मिलानको ४० अंक छ । टोलीसँग रोमेलु लुकाकु, लोउटारो मार्टिनेज, एस्ले योङ, आर्टुरो भिडाल, अचरफ हाकिमी, निकोलो बरेल्ला, मार्सेलो ब्रोजोभिक, एलेसान्द्रो बास्टोनी, स्टेफान डि भर्ज र गोलरक्षक समिर हान्डानोभिक रहेको छ ।
यता, युभेन्टस पनि इन्टर मिलानलाइ उसकै मैदानमा हराउदै अंक तालिका सुधार गर्दै तेस्रो स्थानमा उक्लने दाउमा हुनेछ । १६ खेल खेलेको युभेन्टस ३३ अंक जोडेर चौथो स्थानमा रहेको छ । युभेन्टससँग सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा, आरोन राम्सी, फेडरिको चेइसा, जर्जियो चेलियनी, लियोनाद्रो बोनुची, डानिलो र गोलरक्षक वजसिएच सेजेस्नीको साथ रहेको छ ।
यि दुई टोलीको २४ खेलको नतिजामा युभेन्टसले १३ खेल आफ्नो पक्षमा पारेको छ । ३ खेल इन्टरले जित्दा ८ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुवै भेटमा युभेन्टसले इन्टरलाई हार चखाएको थियो ।
युभेन्टस सोही जितको लयलाई निरन्तरता दिने दाउमा रहँदा इन्टर युभेन्टसलाई हराउन लक्ष्यमा हुनेछ । युभेन्टस पछिल्लो चार खेलमा शतप्रतिशत जित निकाल्दै अपराजित रहेको छ । इन्टर पछिल्लो दुई खेलमा अपराजित छ ।