एजेन्सी – इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनको पुछारमा रहेको सेफिल्ड युनाइटेडमाथि टोटेनहम हट्सपरले सहज जित निकालेको छ ।

टोटेनहमले सेफिल्डकै मैदानमा ३–१ को सहज जित निकालेको हो । टोटेनहमको जितमा सर्ज औरिएर, ह्यारी केन र टांगी एनडोम्वेलेले गोल गरे । घरेलु टोलीका डेभिड म्याकगोल्डरिकले एक गोल फर्काए ।
ब्रामल लेनमा आइतबार राति भएको खेलमा पाहुना टोली टोटेनहमले खेलको पाँचौ मिनेटमा सर्ज औरिएरको गोलबाट अग्रता लिएको थियो । उनले ह्युङ मिन सनको पासमा गोल गरेका थिए । ४०औं मिनेटमा ह्यारी केनले पिएरे इमिल होएबिएरको पासमा गोल गरेपछि टोटेनहमले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो ।
५९औं मिनेटमा डेभिड म्याकगोल्डरिकले जोनाथन फ्लेकको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ६२औं मिनेटमा स्टेभेन बर्गवाइनको पासमा टांगी एनडोम्बेलेले गोल गर्दै टोटेनहमलाई सहज जिततर्फ अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा टोटेनहम ३–१ ले विजयी हुन सफल भयो ।
यो जितसँगै टोटेनहम १८ खेलबाट ३३ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । दुई खेल कम खेलेको म्यानचेस्टर सिटीको ३२ अंक छ । शीर्षस्थानको म्यानचेस्टर युनाइटेडको ३६, दोस्रो स्थानको लेस्टर सिटीको ३५ तथा तेस्रो स्थानको लिभरपुलको ३३ अंक छ । पराजित सेफिल्ड १९ खेलबाट ५ अंक जोडेर पुछारमा रहेको छ ।