काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको दोस्रो खेलमा वालिङ र विराटनगरले १–१ को बराबरी खेल्दै अंक बाडेका थिए । वालिङले अग्रता जोगाउन नसक्दा लिगको तेस्रो खेल बराबरीमा टुंगिएको थियो ।
बिहीबार वालिङले दोस्रो मिनेटमै अग्रता लिएको थियो । सम्झना शर्माले कर्नरमा आएको बलमा हेड गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा लिएको अग्रतालाई वालिङले जोगाउन सकेन । ६३ औं मिनेटमा विराटनगरका लागि आशा कुमारीले बराबरी गोल फर्काइन् । उनले झन्डै २५ यार्डबाट फ्रिकिकमा गोल गरेकी थिइन् ।
त्यसअघि पहिलो खेलमा नेपाल एपिएफ क्लबले चन्द्रपुर नगरपालिकालाई ६–० ले हराउँदा सावित्रा भण्डारी सम्बाले जारी लिगमा पहिलो ह्याट्रिक पूरा गरेकी थिइन् । दशरथ रंगशालामा बुधबार भएको त्रिभुवन आर्मी फुटलब क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका थिए ।