काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप २०२१ को दक्षिण एसियाली प्लेअफअन्तर्गत पहिलो चरणमा श्रीलंका पुलिसको सामना गर्ने भएको छ ।

एएफसीले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार दक्षिण एसियाबाट प्लेअफ छनोटबाट अघि बढ्ने टोली समुह ‘डी’ मा रहनेछ । आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन नकआउट खेल जित्नुपर्नेछ । पहिलो चरणमा आर्मीले अप्रिल ७ तारिखमा श्रीलंका पुलिसको सामना गर्नेछ ।
पहिलो चरणमा पुलिसलाई पराजित गरे आर्मीले भारतको बेंगलुरु फुटबल क्लबको सामना गर्नेछ । उक्त खेल १४ अप्रिलमा हुनेछ । उक्त खेल जितेमा आर्मीले २१ अप्रिलमा प्लेअफ फाइनलमा खेल्नेछ ।
प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटी खेल्नेछन् । उक्त खेलको विजेताले अबहानी लिमिटेड ढाकासँग फाइनलमा स्थान बनाउन खेल्नेछ । हालसम्म खेल हुने स्थानको भने टुंगो लागेको छैन ।
प्लेअफ चरणबाट विजयी भए आर्मीले समूह डीमा दक्षिण एसियाली टोलीसँग नै प्रतिस्पर्धा गर्नेछ । समूह डीमा भारतको एटिके मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया रहेका छन् ।
समूह चरणका खेलहरु १४ मे देखि सुरु हुनेछ । प्लेअफका छनोट भने ७ अप्रिलदेखि नै सुरु हुनेछन् । आर्मीले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि मछिन्द्रको स्थानमा एएफसी कप खेल्न पाएको हो ।
